ब्लग : कालिपारेको नलेखिएको कथा

चापागाउँ । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका वडा नं १ म भन्छु ‘कालिपारे’ को गाउँ । मेरो जन्मभुमि पनि यसै गाउँ नजिक भएकोले करिब बिसौं वर्षसम्म यस गाउँबारे धेरै बुझेँ । र त भन्छु ‘कालापहाडमा निर्भर गाउँ’ अर्थात ‘कालिपारे’ हरुको गाउँ । ‘कालिपारे’ भन्नाले कालापहाड जाने मान्छे ।

कालापहाड भन्नाले भारतमा श्रम गर्न जानु । गाउँलेले ‘कालिपारे’ भन्ने गर्छन् । अझैँ भनौं यो ‘लाहुरे’ को गाउँ । लाहुरेभन्दा तपाई झुक्किनुभयो होला । यस गाउँमा कालापहाडमा थोरै समय बस्ने र घर फर्किनेलाई लाहुरे पनि भन्छन् । मैले पनि कालापहाडलाई राम्रोसंग बुझेको छु । चापागाउँकै नजिक जन्मिएकोले पनि ।

मैले किन कालिपारेको गाउँ, लाहुरेको गाउँ भनेर चर्चा गरेँ भनेर कौतुहलता जो कोहीलाइ हुनसक्छ । तर मलाई यो शव्द लेख्न पनि दिक्क लागेको छ । र त पत्रकारिता गर्न लागेको दुई तिन वर्ष वितिसक्दा पनि यस गाउँ अर्थात् चापागाउँको स्टोरी लेख्न सकेकै छैन ।

एक सन्दर्भमा भनिएको कुरा याद आयो, कर्णालीको कुरा कर्णालीकै मान्छेले लेख्नुपर्छ तब पो वास्तविकता आउँछ । र म पनि चापागाउँका कुरा चापागाउँबासीले नै लेख्ने सोचेँ । जति खुबिले भ्यााउँछ ।

यहाँकै जस्ता स्टोरी लेख्न पत्रकार हुन रहर लागेको कुनैबेलाको सत्य कुरा थियो । तर अहिले त्यो सन्दर्भ ‘गफ’ लगाएजस्तो हुन्छ । चापागाउँकै मात्रै चाहिँ हैन तर चापागाउँ र त्यहाँजस्तै वास्तविकताहरु लेख्ने उदेश्यले पत्रकारिता गरेँ जस्तो लाग्छ ।

माथिल्लो तह पढ्न र सँगसँगै पत्रकारिता गर्ने भुत लिएर प्रदेश राजधानी झरेको तीन वर्ष पुगिसकेछ । तीन वर्षसम्म कतिपटक गाउँ गएँ । गन्तिमा त छैनन् । तर मेरो अनुमानमा पचास पटकभन्दा बढि पटक चापागाउँको शिर हुँदै आडैको गाउँ आखे्रनीमा अवस्थित घर जान्थेँ ।

चापागाउँको बारे केही लेख्नै नखोजेको भने हाईन । करिब चालिस पटकभन्दा बढिपटक सुर्खेतबाट हिँड्ने दिनकै अघिल्लो दिनको साँझे केही स्टोरी लेख्छु भन्ने मानसिकता बनाएँ । कतिपटक त फोटोसम्म पनि खिचेँ । ति फोटोहरु आजसम्म कति डिलिटि भए । तर यहाँको स्टोरी लेख्न सकिएन । कतिपटक त भुलिन्छ कि भनेर डायरीमा ‘चापागाउँको स्टोरी लेख्ने’ भनेर पनि लेखेर राखेँ । तर अहँ लेखिएन । कहिले के नमिल्ने कहिले के ।

नेपाली समाजमा प्रख्यात एउटा उखान छ, ‘नजिकको तिर्थ हेला हुन्छ ।’ मलाई पनि यो तिर्थ हेला भएजस्तो लाग्न थाल्यो अन्य ठाउँमा स्टोरी खााज्दे हिँड्ने माान्छे मलाई आँखा अगाडिको सिकार हेरेर बसेँ आजसम्म । आफ्नै गाउँको स्टोरी ल्याउन नसक्दा कहिलेकाँही आफूले पत्रकारिता गरेकोमा अर्थविहिन भएजस्तो अनुभुति हुन थाल्यो ।

कोरोना भाइरसका कारण अहिले देश नै लकडाउन छ । अहिले म प्रदेश राजधानी वीरेन्द्रनगर छु । मलाई कौतुहलता लाग्यो चापागाउँ कस्तो होला त्यहाँ लकडाउन भयो होला कि नहोला त्यहाँका कालिपारे दाईका जहान कहाँ होलान भारतको हिमाचल प्रदेशको थानेधारमा रहेका चापागाउँले लाहुरेहरु कहाँ होलान् लाहुरे, लाहुरनी भारतबाट नफर्केको भए तीनका स–सना बच्चाहरु र बुढा बा–आमाले कसरी दिन बिताएका होलान् उनिहरुलाई तिजडाँडा, पुनडाँडा, गाबुगौंडा, चाल्नेचौतारा बजारका साउजीले उधारोमा लगेका सामानको कति दिन पैसा मागेर सताए होलान् आठ कक्षामै पढाइ छाडेर लाहुर गएको लाउरे भाइले फर्केर पढाईतिर लाग्यो होला कि नाई रु तेह्र वर्षमा बिहे गरेर लाहुर भागेकाहरु गाउँ फर्किए होलान् कि नाई यस्ता सयौं प्रश्नहरुले मलाई चापागाउँ पुग्न आतुर बनायो ।

म अहिले एउटा युद्ध लडिरहेको छु । बन्दुक बोकेको युद्ध होइन । एउटा महामारीविरुद्धको युद्ध घरमै बसेर । जन्मिएको, करिब बिसौं वर्ष बिताएको ठाउँ जहाँ सुर्खेत झरेपछि पनि पटक पटक पुगेँ तर कलम लिएर पुग्न सकिन । आज पुग्न कौतुहलता लाग्यो । एकजना पत्रकारले भनेको सुनेको थिएँ ‘स्टोरी लेख्न फिल्डमै पुग्नुपर्दैन ।’ र मैले पनि त्यहिअनुसार गर्ने प्रयास गरेँ । त्यहाँको मैले जानेको केही कुरा लेख्न मन लाग्यो ।

मैले यसभन्दा अगाडि पनि उल्लेख गरेँ चापागाउँलाई ‘कालिपारेको गाउँ’ भनेर । आफ्नै छिमेकी टोल भएर पनि मैले यहाँको जनसंख्या एकिन त थाहा पाएको छैन । तर मेरो अनुमानमा यहाँ करिब पचासदेखि एक सय घरधुरी होलान् । यी सबै दलित समुदायका हुन् । मेरो अनुमानमा यहाँ कम्तिमा पाँच सय जनसंख्या होला । तर गाउँ सुनसान हुन्छ । तपाई जहिले जानुहुन्छ ।

मेरो अनुमानमा यहाँको ९५ प्रतिशत जनसंख्या कालापहाडमा निर्भर छ । भन्नाले यहाँको आयआर्जन भनौं वा जिविकोपार्जनको मुख्य स्रोत नैे कालापहाड हो । यस गाउँबाट भारतमा गएर श्रम गर्नु यहाँको विशेषता हो । उमेर, पढाई, लिंग, पेशाले केही फरक पार्दैन खाली श्रम जोडिन्छ । वश् ।

तपाई जहिले जानुभयो भने पनि यहाँ पचास प्रतिशतभन्दा बढि जनसंख्या भेटाउनुहुन्न । किनकी यहाँको जनसंख्याको करिब २० प्रतिशत मानिसहरु भारतको हिमाचल प्रदेशस्थित थानेधारमा भेटिन्छन् अन्य भारतका अरु विभिन्न स्थानमा । कसैले भारी बोक्दै गरेका, कसैले बाँझो जमिन खन्दै गरेका ।

सुन्दा आश्चर्य लाग्नसक्छ । तर चाहे दशैं हो या तिहार या त कुनै ठुलै पर्व नै होस् यहाँको जनसंख्या कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढ्दैन ।

त्यसैले त म भन्छु चापागाउँका हरेक घरमा लाहुरे छन् । यहाँका हरेक घरमा कालिपारे छन् । चाहे दश वर्षको बालक नै किन नहोस् । ६० वर्षका वृद्ध नै किन नहुन् ।

कालिपारे भन्नु र लाहुरे भन्नु उहि हो । कालिपारेलाई कसैले लाहुरे भन्छन् । अर्थात कालापहाड, भारत र लाहुर एउटै हो यहाँको अर्थमा , अँझै यहाँकै शव्दमा भन्ने हो भने यहाँका हरे नागरिक ‘लाहुडे’ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?