कोरोना त्रास : शहरका नागरिक आएपछि गाउँको मुहार फेरिदै

काठमाडौं । भारतको मुम्बईस्थित पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका-२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर अहिले आफ्नै खेतीपातीमा व्यस्त छन् ।

विगत २० वर्षदेखि काठमाडौंको गोंगबुमा होटल व्यवसाय सञ्चालन गरेर बसेका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोना भाइरस त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौदेखि बाँझिएको खेतबारीमा प्राङ्गारिक मल खरिद गरी धमाधम केरा लगाउन थालेका छन् ।

बेनी बजारको एउटा वित्तीय संस्थामा कार्यरत श्याम शर्माले पनि गाउँको माटोमा पैसाको सुगन्ध भेटियो भन्दै तरकारी र पलफूल खेती विस्तार गर्ने ध्याउन्नमा आफूलाई केन्द्रित गरेका छन् ।

घिमिरे, थापा र शर्मा मात्र होइन, कोरोना भाइरस (कोभिड-१९) त्रासका कारण यतिखेर धेरै व्यक्तिहरु शहर छोडेर गाउँमा फर्केका छन् । कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेकाहरु गाउँ फर्किएपछि गाउँलेले नयाँ त्राण पाएको छ । जसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि शहर बसेकाहरु फर्किएपछि गाउँको रुप फेरिएको छ ।

अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । हिउँदेखेती थन्काएर कतै मकै लगाउने त कतै गोड्ने याम छ, अहिले गाउँमा । मल बोक्ने काम पनि धमाधम भइरहेको छ । यस्तै काममा आफूलाई व्यस्त राख्दै छन्, गाउँ फर्केका तन्नेरीहरु ।

कोरोना भाइरस महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको संख्या पनि निकै छ । पछिल्लो समय वृद्धाश्रम जस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका-२ बगरफाँटका ८४ वर्षीय बेदप्रसाद शर्माले बताए । “पहिला प्रायः शुन्यशुन्य जस्तो देखिने गाउँ अहिले भरिभराउ भएको छ”, उनले भने, “आपतविपत, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दो रहेछ ।”

गाउँ फर्केर आफ्नो १६ रोपनी खेतबारीमा २ सयभन्दा बढी मालभोग जातका केराका विरुवा लगाउँदै गरेका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताए । लकडाउनका कारण शहर बजारमा मानिसहरु घरभित्र नै बसेका भएपनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कर्महरु भैरहेको गाउँलेहरुले बताएका छन् । खेतीपातीको काममा शहर र विदेशबाट आएका युवा खटेकाले अहिले गाउँका वृद्धबृद्धा, महिला र केटाकेटीहरुले राहत महशुस गरेका छन् ।

लकडाउनको असर गाउँमा कम छ । गाउँका खेतबारीमा काम भइरहेका छन् । कोही घर सिँगार्न व्यस्त छन् त कोही खेतबारीमा मल बोक्न । त्यस्तै कोहीलाई बाली भित्र्याउने चटारो छ । वर्षौदेखि बाँझो रहेका खेतवारीमा अहिले हरियाली छाएको छ । यो वर्ष उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय किसानहरु बताउँछन् ।

शहरको रमझम र सुविधामा अभ्यस्त भएका बालबालिकाहरु पनि गाउँको वातावरणमा रमाउँदै जान थालेका छन् । काठमाण्डौंबाट पहिलो पटक हजुरबुबासंग गाउँ आएका ११ वर्षीय रोशन घिमिरेले मम, चाउमीन, समोसा र बजारमा पाइने अरु खाजा भन्दा गाउँमा खाइने खाजा मिठो भएको बताए ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाबाट बच्नका लागि गाउँ फर्किएका युवायुवती र बालबालिकाहरु अहिले गाउँको माहोलमा रमाएका छन् । गाउँको वातावरणमा सुरक्षित र रमाइलो दुवै भएको उनीहरुको भनाइ छ । गाउँका वृद्धबृद्धाले पनि अब गाउँको दिन आउँछ की भनेर आशा गर्न थालेका छन् ।

मालिका गाउँपालिका—५ देवीस्थानका रेशबहादुर बूढाले भने, “गाउँका पुराना घरहरु सिंगारिएका छन् । मर्मत सम्भार गरेर चिटिक्क पारिएको छ । बाटो र डहरो पनि सरसफाइ गरिएको छ । कोरोनाका कारण मरिने बाँचिने त ठेगान छैन तर गाउँको रुप भने परिवर्तन भएको देख्न पाइएको छ ।”

  • धु्रबसागर शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?