काठमाडौं । क्वारेन्टाइनमा बसेका नागरिकको आजदेखि -यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ । आज टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेका ५५ र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जनाको प्रहरी -यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । थ्रोट स्वाब सङ्कलन नभएका पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको -यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकामध्ये सुर्नया गाउँपालिकाका १५, दोगडाकेदार गाउँपालिका ५, डिलाशैनी गाउँपालिकामा १६ र दशरथचन्द नगरपालिकाका १९ जनाको -यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए ।
क्वारेन्टाइनमा बसेकामध्ये १४ दिन पूरा भएका नागरिकको -यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ । जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा भोलि टेष्ट हुने बताइएको छ । यसअघि बिहीबार जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको स्वाब सङ्कलन गरिएको थियो ।
प्रतिपरिवार दुई हजारको राहत
बैतडीको पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई आजदेखि राहत वितरण कार्य शुरु गरेको छ । छाक टार्न मुस्किल भएका परिवारलाई प्रतिपरिवार दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धाँमीले जानकारी दिए ।
दैनिक छाक टार्न मुस्किल भएका नगर क्षेत्रभित्र ४१० परिवारको पहिचान भएको र उनीहरुलाई राहत वितरण गर्ने कार्य शुरु भएको नगरपालिकाले जनाएको छ । ती परिवारहरुलाई दाल, चामल, नून, तेल र साबुन वितरण गरिन थालिएको हो ।
नेपाली काँग्रेस पुचौँडी नगरपालिका वडा नं ६ को वडा कार्यसमितिले क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्यान्न, सरसफाइका सामग्री वितरण गरेको छ । भूमिराज मावि कफलढुङ्ग्रामा बसेका सात र जनता आधारभूत विद्यालय रौनालीचौैँडमा बसेका १० जनालाई चाउचाउ, चिउरा, कोलगेट, ब्रस र प्रतिव्यक्ति ५० रुपैयाँको रिचार्ज कार्ड वितरण गरेको नेपाली काँग्रेस वडा कार्यसमिति सचिव मोहन साउदले बताए ।
- विनोदसिंह विष्ट/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया