काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज आज चीन जांँदैछ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामग्री अभाव भएपछि सरकारले निगमको वाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउन लागेको हो । जहाज स्वास्थ्य सामग्री लिन शुक्रबार बेलुका सॉढे ७ बजे ग्वान्जाओतर्फ उड्ने निगमले जनाएको छ ।
सरकारले चिकित्सक तथा स्वास्थ्य व्यवसायीसँग छलफलपछि जहाज चीन पठाउन लागेको हो । स्वास्थ्य मन्त्रालय, स्वाथ्य सेवा विभाग, चिकित्सक लगायत कोरोना परीक्षणमा खटिने जनशक्तिले पीपीई नभई कोरोना परीक्षण नगर्ने चेतावनी दिएपछि सरकारले व्यवसायीलाई तत्काल स्वास्थ्य सामग्री ल्याउन अनुमति दिएको हो ।
निगमका अनुसार जहाज स्वास्थ्य सामग्री लिएर शनिबार बिहान ६ बजे अघि नै काठमाडौं फर्कनेछ । नेपालले ल्याउन लागेको २० टन स्वास्थ्य सामग्री ग्वान्जाओमा तयारी अवस्थामा छ । स्वास्थ्य सामग्री लिन जाने जहाजमा चालक दलका ५ सदस्यसहित १० जना रहने निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया