दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा शिल्ड योजनाको घोषणा

काठमाडौं । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले “शिल्ड (एसएचआईइएलडी)” योजना लागु गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाईरस विरुद्धको लडाईका लागि मुख्यमन्त्री केजरीवालले बिहीबार यो योजनाको घोषणा गरेका हुन् ।

हामीले कोरोना भाइरसका सङ्क्रमित भेटिएका दिल्लीका २१ ठाउँलाई शिबिर जस्तै बनाउने छौँ, त्यसका लागि शिल्ड योजना लागु गर्नेछौँ, उनले भने ।

सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उहाँले ‘शिल्ड’ एसको अर्थ सिलिङ अर्थात धुरी भित्रै बस्नु, अन्यत्र कतै नजानु भन्न खोजिएको जानकारी दिए ।

त्यसैगरी आइसोलेसनमा बस्नु पर्नेहरु एकान्तमा नै रहनुपर्ने र त्यसको पर्याप्त व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताए ।

उनले भने, “अत्यावश्यक सेवा तथा कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिने र त्यो सेवा घरदैलोमै हुन्छ । ग्राहकले भिड गर्न पाईदैन भन्ने हो ।”

स्थानीयस्तरबाट सरसफाई र स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु र ढोका भित्रै परीक्षणको व्यवस्था गरिने पनि उनले कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

यी उपायहरु अपनाएमा मात्रै कोरोना भाइरस विरुद्धको लडाई जित्न सकिने मुख्यमन्त्री केजरीवालले स्पष्ट पारेका छन् ।
भारतको दिल्ली प्रदेशमा बिहीबार बेलुकासम्म ६६९ जना कोरोनाबाट सङ्क्रमितहरु भेटिएका छन् ।

भारतमा देशभरी पाँच हजार ८६५ जना सङ्क्रमित भएको र १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मका कुल सङ्क्रमितमध्ये पाँच हजार २१८ जना अहिले पनि विरामी अवस्थामै रहेका छन् भने अन्य ४७८ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?