गाउँ गाउँमा मास्क आतंक: प्रतिघर २ मास्क, त्यो पनि थोत्रा कपडाका !

सुर्खेत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न मास्कको प्रयोग अनिवार्य भएको चिकित्सकहरूले बताउँदै आएका छन् ।

कोरोना भाइरसबाट बच्न अन्य साधारण मास्क नभइ सर्जिकल मास्क प्रयोग गर्नुपर्ने चिकित्सकहरूको जोड छ । गाउँ गाउँ र टोल टोलमा अहिले मास्क आतंक चलिरहेको छ । साधारण मास्क बाँडेर समाजसेवा गर्नेहरूको होडबाजी नै चलेको छ । तर दैलेखको आठबिस नगरपालिकामा पुराना कपडाको मास्क वितरण गरिएको छ ।

नगरपालिकाको वडा नं. ६ कार्यालयले फोहोर कपडाका मास्क बनाई वितरण गरेको पाइएको हो । स्थानीय एलपी पौडेलका अनुसार प्रयोग गरिसकेर फ्याँकिएका कपडाहरूको मास्क बनाएर वितरण गरिएको छ । त्यो पनि प्रति परिवार २ वटा मास्क मात्रै बाँडिएको छ ।

स्थानीय पदम थापाले वडा कार्यालयले गैरजिम्मेवार काम गरेको आरोप लगाउँदै भने, ‘कोराना भाइरस विरूद्व छुट्याइएको बजेटको माक्सको नाममा दुरुयोग वडा नम्बर ६ सिंहासैनमा पुराना कपडाका माक्स वितरण गरेर सर्वसाधारणको आँखामा छारो हाल्ने काम गरिएको छ ।’

उनले यस्तो अवस्थामा सरकारी निकायहरुले छानबिन गर्न जरूरी रहेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

वडाको रोल, राँता, सिंहासैन, खड्कागडेन, बाँजाकाटियाँ र ताउनी तथा खिड्की ज्यूलामा प्रति घर दुइ वटा मास्क वितरण गरिएको पौडेलले जानकारी दिए ।

वडा अध्यक्ष धीरबहादुर शाहीले गाउँमै मास्क सिलाइएको बताए । ‘गाउामा मास्क सिलाएका हौं । ८९६ घरधुरी वडामा छन् । ती सबै घरधुरीलाइ एक चक्की सावुन र दुइ मास्क वितरण गरेका हौं ।’ उनले भने ।

उनले वडासदस्य तथा अन्य व्यक्तिलाई मास्क वितरण गर्न पठाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?