चोरीका गहनासहित बाबुछोरा पक्राउ

काठमाडौं । धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

कारागार नजिकै रहेको सुनचाँदी पसलबाट गएराति पाँच वटा सुनका टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवन गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नतेले जानकारी दिए ।

गुप्ताले घरको छतमा रहेको पानी ट्याङ्कीभित्र लुकाएका अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । सुनचाँदी पसलका सञ्चालक वर्माका अनुसार १० लाख जतिका गहना चोरी भएको छ ।

कारागार जाने बाटो चोकमा ठेला राखी फलफूल तथा तरकारी बिक्री गर्दै आएका निज पप्पुमाथि यसअघि पनि लागुऔषधसम्बन्धी सार्वजनिक अपराधमा मुद्दा चलेको बताइएको छ । यस्तै उपमहानगरपालिकाकै फूलबारीमा पाँच जनाको घरबाट पनि पानी तान्ने मोटर चोरी भएको बताइएको छ ।

एक सय थान पिपिई हस्तान्तरण

कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि भन्दै एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एनएमबी बैंक कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्तरुपमा १०० थान पिपिई हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय व्यक्तिलाई सहयोग पु-याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान आरम्भ गरेको बताइएको छ । सामाजिक उत्तरदायित्वअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको एनएमबी बैंक धनगढी शाखा प्रबन्धक जोशीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?