काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभर निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे अनुगमन र आवश्यक समन्वयको काम थालिएको बताएका छन् । गत साता बसेको मन्त्रिपरिषद् बैठकले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड स्विकृत गर्दै सहरी विकास राज्यमन्त्री मानन्धर र स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई अनुगमन तथा सहजिकरणको जिम्मेवारी दिएको थियो ।
सहरी विकास मन्त्रालयका तर्फबाट पनि आज मन्त्रीस्तरिय निर्णय गर्दै सहसचिव नवराज प्याकुरेल र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख सहसचिव कुमार प्रसाद घिमिरेलाई खटाइएको छ । गत चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक सहयोग र समन्वयका लागि राज्यमन्त्रीकसँगको टोलीमा दुई सहसचिवलाई पठाएको हो ।
मन्त्रालयले दुई सहसचिव पठाएसँगै राज्यमन्त्रीले देशभरका क्वारेन्टाइनको मापदण्ड(२०७६ अनुसार कार्यान्वयनको व्यवस्थापनका लागि उपत्यकाको १८ वटै महानगर तथा नगर प्रमुख र प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायक सँग भोलि छलफल गर्ने भएका छन् । मन्त्री मानन्धरले ७७ वटै जिल्लाका ७ सय ५३ वटा स्थानीय तहमार्फत् बनेका क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापनलाई चुस्त बनाउन आग्रह गर्दै आवश्यक अनुगमनको तयारी भइरहेको जानकारी दिएका छन् ।
मापदण्ड अनुसार अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक सम्बन्धित पालिका प्रमुख र प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सदस्य तथा स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहने छन् । सल्लाहकार समुहमा संघीय संसदका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु र जिल्ला समन्वय समिति प्रमुख पनि रहने व्यवस्था गरिएको छ ।
त्यस्तै राज्यमन्त्री मानन्धरले सुदुरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई सेट हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारको सुदुरपश्चिम समन्वयको जिम्मेवारी पाउनु भएकी खानेपानी मन्त्री विना मगरलाई आज मन्त्री मानन्धरले दुई सय थान पीपीई सेट हस्तान्तरण गरेका हुन् । नेपाल भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पिपिई सेट हस्तान्तरण गरिएको हो । पिपिई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आव्हान समेत गरे । मन्त्री मानन्धरले विपद्का बेलामा सबैभन्दा नजिकको छिमेकीले एकजुट भएर लाग्नुपर्ने पनि बताए ।
पिपिई ग्रहण गर्दै कोरोना विरुद्ध सुदुरपश्चिम समन्वयको जिम्मा पाएकी खानेपानी मन्त्री मगरले कोरोनाको उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइन । मन्त्री मगरले सुदुरपश्चिम कोरोना संकटको ईपीसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापुर्वक काम गरिरहेको बताइन ।
मन्त्री मानन्धरको पहलमा आइतबार स्वास्थ्य मन्त्रालयलाई तीन सय थान पीपीइ हस्तान्तरण गरिएको थियो ।
संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा उपयुक्त रहेको दाबी गर्दै आवश्यक सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उक्त पीपीई सेटमा गाउन, भाइजर, पञ्जा, एप्रोन, मास्क लगायतका समान रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया