भ्रष्टाचारविरुद्धको निर्मम नीति व्यवहारमा देखाउन प्रधानमन्त्रीलाई पशुपति शमशेर राणाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारविरुद्धको निर्मम नीति भाषणमा होइन व्यवहारमा देखाउनु पर्ने बताएका छन् ।

भष्टाचार अनियमितताविरुद्ध निर्मम भएर प्रस्तुत हुने प्रधानमन्त्रीको निरन्तर प्रतिवद्धता, निर्मम रूपमा व्यवहारमा कार्यान्वयन हुनुपर्दछ । प्रधानमन्त्रीसँग देश र जनताको अपेक्षा यही हो, प्रधानमन्त्री ओलीको देशबासीको नाममा आएको सम्बोधनपछि अध्यक्ष राणाले भने ।

‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचार अनियमितताविरुद्ध निर्मम भएर प्रस्तुत हुने बताउदै आउनुभएको हो । आज पनि सो प्रतिवद्धता दोहोर्‍याउनु भएको छ । प्रधानमन्त्रीज्यूको प्रतिवद्धता निर्मम रूपमा व्यवहारमा लागू भए उपयुक्त हुने थियो । आफ्नो प्रधानमन्त्रीप्रति देश र जनताको अपेक्षा नै यही हो,’ राणाले आइतबार ट्वीट  गर्दै भने ।

कोरोना संक्रमण दोस्रो चरणमा रहेको बेला सतर्कता र सावधानी झन् आवश्यक रहेको उनको ठहर छ । ‘यसका लागि प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख घोषित नीतिको कार्यान्वयन जरूरी छ,’ उनले भने ।

प्रधानमन्त्रीको सम्बोधन कै प्रतिक्रियास्वरूप राणाले संयम र एकतामा जोड दिए । उनले भने, ‘जनस्तरको आलोचना, अपेक्षा र सुझावप्रति तिक्तता नपोखौं, महामारीविरुद्ध एकढिक्का बसौं । तेस्रो चरणको जोखिम परास्त गर्ने आफैंले आफैंलाई सफल भयौं भनेर ढुक्क नबसौं ।’

महामारीको जोखिम र स्थानीयतहको बढ्दो संवेदनशीलताका बाबजुद सरकारको काममा कमीकमजोरी जारी रहेको उनले बताए । सरकारको भनाइ र गराइमा एकतारूपता नदेखिएको भन्दै अध्यक्ष राणाले भने, ‘द्रुत परीक्षण अघि बढाउने भने पनि बझाङमा भएको मेलाले यसको उल्लंघन भएको देखिन्छ । यस्तो उल्लंघन कडाइकासाथ रोकिनु पछ{ । सरकारकै भनाइमा उपकरण औषधि अपूग छ, विदेशबाट प्रर्याप्त आयात भएको छैन ।’

स्वास्थ्य संवेदनशीलतामा जोड दिँदै उनले भने, ‘क्वारेन्टाइनमा सामाजिक दूरी कायम नभएको समाचार छ । निरन्तर सचेतना, सावधानी जरूरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?