२०७६, २४ चैत्र सोमबार २२:५७

कोरोनाको खबर पढेर डर लाग्छ, तर…


प्रकाशित मिति : २०७६, २४ चैत्र सोमबार २२:५७

इटाली, स्पेन, अमेरिका र फ्रान्समा हजारौं व्यक्तिको ज्यान गयो । बेलायतमा पनि पाँच हजार बढ़ीले ज्यान गुमाइसके । झट्ट सुन्दा यो चित्र निकै डरलाग्दो हुँदो रहेछ ।

मलाई चीन र इटालीको खबरले यस्तै डर लाग्थ्यो । विशेष गरी हस्पिटल र स्वास्थ्यकर्मी कसरी जुध्दै होलान् भन्ने कल्पनाले मनमा त्रास उत्पन्न गर्थ्यो । खबर पढेर जति डर लाग्छ, लौ सबै थोक सकियो कि जस्तो लाग्छ, तर वास्तविक जीवन भने त्यति नै डरलाग्दो चाहिँ हुँदैन रहेछ । हामी दुबै संयोगले बेलायतको हस्पिटलमा काम गर्छौं । जीवन पहिलेजस्तो त अवश्य छैन तर बाहिरबाट देखिने जस्तो कहाली लाग्दो पनि छैन । लकडाउन छ तर दिनमा एकपल्ट हिँड्न, दौड़िन या एक्सरसाइज गर्न बाहिर निस्किन पाइने हुनाले सड़कमा मान्छेहरू आफ्नै गतिमा हिँडेका देखिन्छन् । किनमेल गर्न या घरबाटै गर्न नसकिने कामका लागि आवत जावत गर्न पाइन्छ ।

अलि भीड़भाड़ बाहेक अरूलाई पुलिसले रोकेर फाइन गर्ने अभ्यास यहाँ छैन, सम्भव पनि छैन । अत्यावश्यक काममा जानेहरूलाई असुविधा नहोस् भनेर बस र रेलहरू चलेका छन् । खाद्यान्न, तरकारी र औषधि बेच्ने सबै पसल खुला छन् । ब्याङ्क, हुलाक र कुरियरहरू चलेका छन् । यहाँ प्रायः सरकारी काम टेलिफोन या हुलाकबाट हुन्थ्यो, अहिले पनि हुन्छ । हुलाकबाट हुने काम झन छिटो हुँदो रहेछ । प्रायः किनमेल अनलाइन नै हुन्थ्यो, त्यो आज पनि जारी छ । ताजा फलफूल, दूध, तरकारी, खाद्यान्न बरु शुरूका केही दिन नपाइने हो कि भन्ने थियो, अहिले जताततै पाइन्छ ।

मैले शुरुमा पूरा मूल्य तिरेर तीन बोरा चामल किनेँ, अहिले आधा मूल्यमैं ‘सेल’मा छ । सड़कमा मान्छेले बाक्लै मास्क लगाएको पनि देख्न पाइन्न । फेसबुकमा जस्तो त्रास देखिन्छ, घरबाहिर निस्किँदा त्यो कत्ति महसुस हुँदैन । यहाँ स्वास्थ्यसेवा निःशुल्क भएकाले परीक्षण र उपचार सरकारको दायित्व हो । लक्षण देखिए एक कल फोन गरेपछि कामबाट सजिलै बिरामी बिदा पाइन्छ । कम्पनी सानो भयो र तलब दिन सकेन भने सरकारले दिन्छ । घरमैं आइसोलेशनमा बसेकाहरूले एक कल फोन गरेपछि स्वयंसेवकहरूले आवश्यक खाद्यान्न पसलबाट घर ल्याइदिन्छन् । प्रायःले इष्टमित्रबाट यो काम चलाएका छन् । सरकारी अधिकारीहरू पक्कै आत्तिएका होलान् तर हस्पिटलदेखि सड़कसम्म आम नागरिकमा त्यस्तो अत्याहट अनुभव हुँदैन । यस्तो लाग्छ, मान्छेलाई केही थाहै छैन ।

कति मान्छे भाइरसबाट सङ्क्रमित भएर पनि निको भइसके । ती काममा फर्किसके । केही लक्षण देखिएर अहिले घरभित्रै छन्, हामी दुईजस्तै । जति समृद्ध देश भए पनि एकैपल्ट हजारौँ मान्छे बिरामी भएपछि सेवा पुऱ्याउन सजिलो नहुने रहेछ । भएको यत्ति हो । अरू बेला प्रयोग नै नहुने सङ्ख्यामा भेन्टिलेटर र आइसियु बेड कसैले बनाएको हुँदैन । भेन्टिलेटरमात्रै भएर भएन, बेड-स्पेस चाहियो, जनशक्ति चाहियो । औसतमा आवश्यक पर्ने जति यहाँ पनि थियो । तर अहिले आवश्यकता ह्वात्तै बढ़ेपछि अप्ठेरो भएको छ, यत्ति हो । सङ्क्रमण दर सुस्त हुने हो भने स्वास्थ्य संस्थाले यसलाई सजिलै म्यानेज गर्न सक्छन् । विश्वभर सत्तरी हजार मान्छेको मृत्यु हुनु पक्कै दुःखद हो तर यो तीन महिनाको जोड़ सङ्ख्या हो । त्यसै पनि हरेक दिन विश्वमा सरदर एक लाख पचास हजार मान्छेको मृत्यु हुने रहेछ ।

निमोनिया वर्शौंदेखि त्यसै पनि मृत्युको ठूलो कारण हो । सर्पले टोकेर मात्रै एक वर्षमा एक लाख पैंतीस हजार मान्छेको मृत्यु हुँदो रहेछ । कोभिड़-१९ बाट मृत्यु हुनेको सङ्ख्या बढेको छ तर अन्य कारणबाट हुने मृत्युको सङ्ख्या घटेको पनि छ । विश्वमा सरदर मृत्यु उस्तै छ । उपचार र रोकथामका लागि अनुसन्धान र परीक्षण जारी छ ।

धनी देशले ठूलो रकम विश्वविद्यालयका लागि छुट्याएका छन् । ठूला पब्लिक कम्पनीले पनि रिसर्च गर्दै छन् । भ्याक्सिन या कुनै औषधि आउँदा त्यसमा खर्च जोडिने भएकाले अलि महँगो होला तर त्यो धनी देशले नै महँगोमा किन्नेछन् । नेपालजस्तो देशसम्म जाँदा यसको लागत उठिसकेर यो सस्तो हुन्छ या तिनै धनी देशले अनुदान दिन्छन् । किनकि आफ्नो देशमा मात्रै निर्मूल भएर यो समस्या समाधान हुँदैन । रोगभन्दा ठूलो चिन्ता नपालौं !

  • नारायण गाँउलेको यो लेख उनको फेसबुकबाट लिईएको हो ।

 

प्रतिक्रिया दिनुहोस