सावधान ! लकडाउनमा बाहिर ननिस्कनुहोस्, प्रहरीले आकाशबाटै गर्दैछ निगरानी

काठमाडौं । विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड-१९) को कहरका कारण नेपाल सरकारले लकडाउन गरेको आज १० दिन भयो । आक्रमक र तिव्र गतिमा सजिलै फैलने कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण फैलिन नदिन सरकारले देशैभर सर्वसाधारणको आउजाउमा रोक लगाएको छ। त्यसैले सडक सुनसान देखिन्छन् ।

तर के तपाई सुनसान सडकमा ट्राफिक प्रहरीको आँखा छलेर वा सडकमा उभिएका सुरक्षकर्मीले नदेख्नेगरी अथवा विभिन्न वहाना बनाएर घरबाहिर निस्कने, पासको दुरुपयोग गर्ने, भेला हुने, हिँडडुल गर्ने गतिवीधि त गरिरहनुभएको छ ? यदि त्यसो हो भने होसीयार । प्रहरीले प्रविधीको प्रयोगबाट तपाईका त्यस्ता गतिवीधिको सुक्ष्म ढंगले निगरानी गरिरहेको छ ।

नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आकाशबाटै लकडाउन निगरानी गरेको हो । प्रहरीले ड्रोन प्रयोग गरेर लकडाउनको बेला मानिस आवतजावत नियाल्न थालेको छ ।

उपत्यका विभिन्न १५ स्थानमा ड्रोनबाट लकडाउन निगरानी भइरहेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले लोकपथलाई बताए । ‘अहिलेको अवस्थामा सबै ठाउँमा प्रहरीले सडकबाट मात्र निगरानी गर्न सक्ने अवस्था छैन, त्यही भएर ड्रोन प्रयोग गरिएको हो’ उनले भने , सर्वसाधरणको हिँडडुल तथा सवारीसाधनको आवतजावत ड्रोनबाटै अनुगमन गरेका छौं । ड्रोनबाट त्यसलाई नियन्त्रण गर्न निकै सहज भएको छ ।’

लकडाउन निगरानीमा ४ वटा ड्रोन प्रयोग गरिएको छ । ड्युटीमा खटिएका प्रहरी आफैँ पनि कत्तिको सजग भएर काम गरिरहेका छन् र उनीहरूको अवस्था कस्तो छ भनी थाहा पाउन पनि ड्रोनले सहयोग गरिरहेको उनले लोकपथसँगको कुराकानीमा बताए ।

काठमाडौंको मैतिदेवी, नयाँ बसपार्क, रत्नपार्क, थापाथली, त्रिपुरेश्वर, बल्खु, बानेश्वर, चावहिल, चक्रपथ, गौशाला, ग्वार्को, कलंकी र कालिमाटी तथा ललितपुरको लगनखेल र  सातदोबाटोमा ड्रोन प्रयोग गरिएको छ ।

साथै, नेपाल प्रहरीले Nepal police App बाट पनि कोरोना भाइरस सम्बन्धि जानकारी लिन र दिन सकिने जनाएको छ ।

यसैबीच कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?