आजबाट सवारीपास बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) बाट सवारीसाधन पास वितरण बन्द गरेको छ । सवारी पासको लागि कार्यालयमा अत्यधिक भिड बढेकोले सवारीसाधनको पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले कोभिड-१९ को संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनलाई पास वितरण गर्दै आएको थियो ।

भिडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोगसमेत गरिएकोले बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । कटुवालका अनुसार अत्यावश्‍यक सेवालाई पास नचाहिने साथै अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ । जसमा एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ । तर, सबैले आफ्नो परिचयपत्र बोक्नुपर्नेछ ।

खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन् । तर, यस्ता सवारीहरुमा यात्रु ओसार्न भने पाइने छैन । व्यक्तिगत समस्या, परिवार, वा आमा बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने उनले बताए ।

तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?