प्रधानमन्त्रीलाई ‘गलत ब्रिफिङ’ भयो भन्दै सधैँ ‘एक्स्क्यूज’ चल्छ ?

लभेष प्याकुरेल

कोरोना भाइरस बिरुद्ध सिंगो देश लडिरहेको नाजुक अवस्था र लकडाउनको सुनसान समयमा देशमा एउटा अर्को काण्डको पर्दाफास भयो त्यो हो स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, मेडिकल उपकरण खरिदमा रातारात आफूनिकटका व्यवसायीलाई सेटिङ मिलाएको र वाणिज्य विभागमा दर्ता नै नभएको कम्पनीलाई टेन्डर दिलाएर भ्रष्टाचार गरेको आरोप लाग्यो स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध । पहिलो चरणमा सदाझै सरकारले आरोपलाइ वास्ता गरेन, दोश्रो चरणमा मन्त्रीले आरोपीहरुलाई अलि अलि थर्काएर भएपनि प्रक्रिया अघि बढाए ।

विशेष सुत्रका अनुसार आइतबारको मन्त्रिपरिषद्को बैठकबाटै यो उपर चर्चा त भयो तर जित मन्त्री भानुभक्त ढकाल कै भयो ।

तर यो नयाँ नाटक को अन्त्य बुधवार स्वास्थ्य सेवा विभागले कोरोना भाइरस ‘कोभिड (१९’ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध को सार्वजनीक सूचना सहित भयो । स्वास्थ्य मन्त्रालयले मेडिकल सामान खरिदको २४ घण्टा भित्रै चमत्कारी ढंगमा सबै काम तमाम गरी ठेकेदारसँग ठेक्का सम्झौता गरेर ठेकेदारले पहिलो खेप सामान आएपछि गुणस्तर को तर्कमा ठेक्का रद्द भएको छ। तर के यसले च्याप्टर क्लोज भयो त ? के यो नाटकीय निर्णयमा संलग्न सबै पदाधिकारी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सम्झौता रद्ध गरेको नाममा पानी माथिको ओबानो बन्न पाउँछन् ?

ठेक्का पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनलले आफुहरुलाई फसाइएको गुनासो पोखेका छन् ।सकंटको बेला देशलाई सहयोग गर्न खोज्दा उल्टो आफ्नो ३२ करोड डुबेको दुखेसो ओम्नी समुहको छ । अर्कोतर्फ प्रधानमन्त्री वरिवरिका केही व्यक्तिले जिम्मेवारी र निकटताको दुरुपयोगसँगै संकटको यो समयमा राज्यको ढुकुटी ‘लुट्ने’ प्रयास गरेको र प्रधानमन्त्रीलाइ गुमराहमा राखेको एक थरिको तर्क छ ।

जे होस् करिब ८ / १० दिन चलेको एउटा ‘हाई भोल्टेज ड्रामा’ को बुधवार अन्त्य भएको छ । सँगै यसको पनि रेडिमेड जवाफ बाहिर ल्याइएको छ । प्रधानमन्त्री ओलीलाई ‘गलत ब्रिफिङ’ गरियो तै चुप मै चुप।

नेकपाको शक्तिशाली सरकार गठन भएपछिको यो पहिलो काण्ड होइन, सरकारसँग अहिले सम्म काण्डै काण्डको लामो उपलब्धी छ ।

३३ किलो सुनकाण्ड, मोदीको नागरिक अभिनन्दन काण्ड, कर काण्ड, निर्मला बलात्कार तथा हत्याकाण्ड, सिण्डिकेट काण्ड, कुलपति काण्ड, ‘सिधा प्रश्न’ काण्ड, मार्सीभात काण्ड, शेरबहादुर काण्ड, डा केसी अनसन काण्ड, वाइडबडी काण्ड, एसिया प्यासिफिक समिट काण्ड, झुटो तथ्यांक काण्ड, पप्पु काण्ड, मेलम्ची ठेकेदार काण्ड, सुख्खा बन्दरगाह काण्ड, पोलपोलमा प्रधानमन्त्री काण्ड, सूचना प्रविधि विधेयक काण्ड यस्तै उखु किसान काण्ड, एमसिसी काण्ड, यति होल्डिङ्स काण्ड , प्रदेश ३ नाम र राजधानी काण्ड, मिडिया काउन्सिल विधेयक काण्ड, बालुवाटार जग्गा काण्ड, सभामुख काण्ड, गुठी विधेयक काण्ड, मन्त्रीपरिषद् विस्तार काण्ड, कालापानी काण्ड, मेडिकल विद्यार्थी काण्ड, ठेकेदारको स्वार्थमा सार्वजनिक खरिद ऐन संशोधन काण्ड, सर्लाही गोली काण्डहरु सरकारको विजय गाथा हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अति प्रिय पूर्व संचार मन्त्रि गोकुल प्रसाद बाँस्कोटा अडियो टेप काण्ड र प्रधानमन्त्री स्वयम् को जन्म दिनको यति ग्रुप स्पोन्सर फ्लाईङ केक काण्ड , सरकारको काण्डहरु चार्ट लिस्टका टप २ काण्ड मान्न सकिन्छ ।

तर पनि हरेक पटक प्रत्येक नाटक जहाँ सरकार कमजोर साबित हुन्छ अनि भनिन्छ, प्रधानमन्त्री ओलीलाई ‘गलत ब्रिफिङ’ गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओली लरतारो प्रधानमन्त्री होइनन् राजनीति र कुटनीतिको विशिष्ट दखल राख्दछन् । यसमा दुईमत छैन । विज्ञानदेखि अध्यात्मसम्म प्रमको ज्ञानको शक्ति लामो समय देखि हामी नेपालीले टिभी पत्रपत्रिकामा देखिनै रहेका छौ ।

हाल सम्मकै भिजनरी प्रधानमन्त्रीको रुपमा प्रस्तुत भएका हाम्रा प्रधानमन्त्रीलाइ के सानो निहित समूहले फकाई झुक्याउन सक्ला र त्यो पनि एक पटक होइन दुइ पटक होइन हरेक पटक ? यो गम्भिर प्रश्नको जवाफ छैन ।

फेरी धेरै जस्तो ठुला काण्डमा प्रधानमन्त्री केपी शर्मा ओली आफै फाइनल जजमेन्ट दिन नडराउने प्रधानमन्त्री हुन् । छानबिन, अनुसन्धान , संसदीय प्रक्रिया र नियम होइन प्रधानमन्त्रीको अप्रोच हो कि सेल्फ डिसिजन ?

निम्छरा प्रश्नहरुका लागि हाम्रा शक्तिशाली प्रधानमन्त्रिसँग समय छैन । रेल, पानिजहाज अनि विकासको मूल फुटाउनु छ, उनलाई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?