रास्कोटद्वारा ५० लाखको विपद कोष स्थापना

मान्म । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट उच्च सतर्कता, सावधानी र पूर्वतयारीका लागि ५० लाखको विपद् कोष स्थापना गर्ने निर्णय गरेको छ । सोमबार नगरस्तरीय विपत् व्यवस्थापन समितिको पहलमा बसेको सर्वपक्षीय बैठकले नगर भित्रिने सम्पूर्ण नाकामा आवतजावत बन्द गर्नाका साथै नाकामा जाँच र स्वास्थ्य परीक्षणका लागि जाँचचौकी राख्ने निर्णय गरेको छ ।

अत्यावश्यक कामकारबाही र वडा कार्यालयले गर्ने दैनिक काम सञ्चालनका लागि नगर प्रमुख काशीचन्द्र बरालको संयोजकत्वमा सात सदस्यीय मूल समन्वय समिति पनि गठन गरिएको छ ।

खाद्यान्न वितरण

सान्नी त्रिवेणी गाउँपालिका–१ ले वडामा रहेका अतिविपन्न तथा एकल महिलालाई खाद्यान्न वितरण गरेको छ । लकडाउनका कारणले अतिविपन्न तथा एकल महिलालाई छाक टार्न समस्या नहोस् भनेर पहिलो चरणमा चामल एक कट्टा, साबुन, मास्क र तेल वितरण गरिएको वडाध्यक्ष भरतबहादुर बिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?