मालवाहक सवारी साधनमा भारततर्फ जाँदै गरेका ३५२ भारतीय पक्राउ

काठमाडौं । मालवाहक सवारी साधन र पैदलयात्राबाट भारततर्फ जाँदै गरेका ३ सय ५२ जना भारतीय नागरिक पक्राउ परेका छन् । लकडाउनको समयमा वीरगञ्ज नाका हुँदै भारत जाने क्रममा रहेका बालबालिका, महिलासहित ३ सय ५२ भारतीय नागरिकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँच महिला, ११ बालबालिका र ३३६ पुरुष रहेको प्रहरीले जनाएको छ । काठमाडौं, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुलाई वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको छ । उनीहरुलाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रवन्ध गरेको छ । नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?