सुदूरपश्चिममा क्वारेन्टाइनमा राख्नै सकस

लोकपथ
0
Shares

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर ऐर आइतबार गाउँमा स्थापना गरिएको क्वारेन्टाइन स्थलमै कुटिए । मदिरा सेवन गरी आएका स्थानीयवासी धर्मानन्द बडू वडाध्यक्षमाथि नै जाइलागेपछि अहिले प्रहरी हिरासतमा छन् ।

वडाले गलिनाथ मावि बडगाउँमा क्वारेन्टाइन स्थापना गरेको छ । यही चैत १२ गते नगरपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी करनसिंह धामी पनि क्वारेन्टाइनमै कुटिएका थिए । सुदूरपश्चिम प्रदेशमा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर सङ्क्रमणबाट सतर्कता अपनाउन खोज्दा समस्या भइरहेको छ ।

यहाँका ८८ स्थानीय तहमध्ये अधिकांशले हैसियतअनुसार क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गरे पनि बाहिरबाट आउने प्रायः नागरिकले क्वारेन्टाइन बसेर सावधानी अपनाउन अटेर गर्दै आएका छन् । उता सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको सीमानाकाबाट घर आउन नपाएको भन्दै सिमावर्ती भारतीय बजार धार्चुलामा अलपत्र नेपालीहरु चर्को स्वरमा चिच्याइरहेका छन् ।

सोमबार दार्चुलामा महाकाली नदीमा पौडी खेलेर एक युवक नेपाल प्रवेश गरेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले ती युवकलाई नियन्त्रणमा लिएको छ । भारततर्फ अझै ५०० भन्दा बढी नेपाली अलपत्र छन् । कोभिड–१९ दार्चुलाका सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुलामा भारतबाट करिब तीन हजारभन्दा बढी नागरिक स्वदेश फर्किएको बताए । “यहाँका नौ वटै स्थानीय तहमा गरेर १४७ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्”, भट्टले भने, “धेरै नागरिक क्वारेन्टाइन बस्न अटेरी गरिरहेकाले सङ्क्रमणको जोखिम पनि छ ।”

उनले महाकाली अस्पतालको आइसोलेसन कक्षमा छ शङ्कास्पद बिरामी राखिएको बताए । भारतका विभिन्न क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेका बेला यहाँका स्थानीय तहले पनि भारतबाट आउनेबाट सङ्क्रमण नफैलियोस भनेर सक्रियता देखाएका छन् ।

“अछाममा अहिलेसम्म ५३ जना क्वारेन्टाइनमा बसेका छन्”, कोभिड–१९ अछामका सम्पर्क व्यक्ति देवदत्त जोशीले भने, “यहाँ अहिलेसम्म दुई हजार ५४३ जना भित्रिएको तथ्याङ्क छ । क्वारेन्टाइन बस्न आग्रह गर्दा ‘हामी ठिक छौँ के पाप ग¥यौँ र बस्नलाई’ भन्नेजस्ता जवाफ आउँछन्”, जोशीले भने, “सम्झाउँदै जाँदा बस्न तयार हुने गरेका छन् ।”

सुदूरपश्चिमबाट नेपालीहरू भारतको राजधानी दिल्ली, मुम्बई, पुना, बैंग्लोर, राजस्थान, हरिद्वार, चण्डीगढ, पिढौरागढलगायतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् । डोटीनेन्नुभयो, “३९४ जना क्वारेन्टाइनमा बसेका छन् ।”

स्थानीय तहहरुले भारतलगायत अन्य मुलुकबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन गरिरहेको उनले जानकारी दिए । यहाँका सीमानाकाबाट उद्धार गरिएकालाई स्थानीय प्रशासन र स्थानीय तहले क्वारेन्टाइनमा राख्न सकेको छैन । भीमदत्तनगरस्थित बजारमा १०० श्ययाको क्वारेन्टाइन रित्तो छ । महाकाली अस्पतालको आइसोलेसन कक्षमा छ बिरामी राखिएको छ ।

“क्वारेन्टाइनमा राखेर मात्रै सङ्क्रमण रोकिन गाह्रो छ”, भीमदत्तनगरस्थित महाकाली अस्पतालका एक स्वास्थ्यकर्मीले भने, “राखिएकाहरुको खानपिन, सुरक्षा र तिनको खटनपटन, सुरक्षा सतर्कतालगायतका विषयमा कसैको ध्यान पुगेको छैन ।” उनले क्वारेन्टाइनको उचित व्यवस्थापनका लागि सरकार र स्थानीय तहले ध्यान नदिएको दुःखेसो पोखे ।

सुदूरपश्चिम प्रदेशबाट हालसम्म ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ । “अहिलेसम्म २५ जनाको रिपोर्ट आएकामा एक जनाको मात्रै पोजेटिभ आएको हो”, प्रयोगशालाका कोभिड–१९ का सम्पर्क व्यक्ति रामप्रसाद ओझाले भन्नुभयो, “बाँकीको रिपोर्ट आएको छैन ।”

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण सोमबार यहाँ आइपुगेको छ । स्वास्थ्य सामग्री ल्याएर नेपाली सेनाको स्काई ट्रक धनगढी आइपुगेको छ । पिपीइ, मास्क, स्यानिटाइजरलगायतका सामग्री आएकाले यहाँ शङ्कास्पद बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज हुने भएको छ ।

त्यसैगरी सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सवारी पास दिन बन्द गर्ने निर्णय गरेको छ । अर्को आदेश जारी नभएसम्म सवारी पास वितरण पूर्णरूपमा बन्द गर्ने प्रशासनले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?