कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको आज नियमति पत्रकारसम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा जथाभावी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न आग्रह गरेको जानकारी दिए ।

“स्वास्थ्यकर्मीको निजी धारणा र अनुभव सामाजिक सञ्जालमा सार्वजनिक भइरहकामा यस्ता निजी धारणा र अनुभवले जनतामा भ्रम सिर्जना गरेको हुँदा कुनै पनि स्वास्थ्यकर्मीले मन्त्रालय वा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेका सूचना सामग्रीभन्दा फरक नहुने गरी कोभिड–१९ सँग सम्बन्धित धारणा नगर्न-नगराउन अनुरोध गर्दछौँ”, उनले पत्रकारसम्मेलनमा भने ।

यसैगरी उनले अहिले कुनै पनि रोगले मानिसको मृत्यु भए पनि त्यो कोरोनाको कारणले भयो भन्ने प्रचार भएकाले त्यसो नगर्नसमेत सञ्चारमाध्यमलाई अनुरोध गरे । “अरु रोगले मान्छेको मृत्यु भयो भने अहिले कोरोनाको कारणले भन्ने गरिएको छ,” उनले भने, “नेपालमा अहिलेसम्म कोरोनाको कारणले कोही मरेको छैन । सङ्क्रमण भएकाको अवस्था सामान्य रहेको छ ।” उनले अन्य मुलुकमा जस्तो नेपालमा कोरोनाको सङ्क्रमण नफैलिएको भन्दै विदेशबाट फर्किएकालाई माया गरी राम्रोसँग होम क्वारेन्टाइनमा राख्ने हो भने कोरोना नफैलिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?