अब कोरोना परीक्षण पाँच मिनेटमै गर्न सकिने

काठमाडौं । अब पाँच मिनेटमा कोरोना भाइरस संक्रमण परीक्षण गर्न सकिने भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो (पाँच मिनेटमा) भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ ।

अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ । यो प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ ।

अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । यो मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?