युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्ने

एजेन्सी । सिरि ए क्लब युभेन्ट्सका खेलाडीले चार महिनाको तलब छाड्न सहमत भएका छन् । कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिएको क्लबलाई सहयोग गर्न खेलाडीहरु चार महिनाको तलब छाड्न सहमत भएका हुन् ।

खेलाडीहरु चार महिनाको तलब माफ गर्न सहमतीसंगै क्लबलाई समग्रमा ८० मिलियन पाउण्ड राहत मिलेको छ । पछिल्लो सहमतीसंगै क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्षिक प्याकेज अन्तर्गत प्राप्त गर्ने ९ मिलियन पाउण्ड भन्दा बढी रकम गुमाउनेछन् ।

यस्तै युभेन्ट्सका प्रशिक्षक मौरिजियो सर्रीले समेत तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमती जनाएका छन् । खेलाडी समेत तलब कटौतीको प्रस्तावमा सहमत भएका हुन् । कोरोनाको महामारीबाट प्रभावित क्लबलाई आर्थिक सहयोग गर्न खेलाडीहरु चार महिनाको तलब छाड्न सहमत भएको युभेन्ट्सले जनाएको छ ।

पोर्चुगलका स्टार रोनाल्डो सहितका सहकर्मी र प्रशिक्षक सर्रीले मार्च, अप्रिल, मे र जुनमा प्राप्त गर्ने मासिक तलब बराबरको रकम छाड्न सहमती जनाएका छन् ।  ईटालीका सबै खेल गतिविधि कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन् । युभेन्ट्स लिगको शीर्ष स्थानमा छ ।

कोरोनामा विश्वमा सबैभन्दा बढी ईटाली प्रभावित छ । युभेन्ट्सले सबैको हितका लागि सो निर्णय लिएको जनाएको छ । ‘क्लब सबै खेलाडीलाई तथा प्रशिक्षकले कठिन समयमा दिएको साथका लागि धन्यवाद दिन्छ ।’ युभेन्ट्सले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

युरोपका मुख्य क्लबहरुले खेलाडीको तलबमा कटौती गरेका छन् । जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी समेत तलब कटौतीको प्रस्तावमा सहमती जनाएका छन् । स्पेनिस महारथी क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले यसअघिनै खेलाडीको तलब कटौती गर्ने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?