कांग्रेस नेता पौडेलको कोरोना नियन्त्रणको लागि सरकारलाई ८ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले कोरोना संक्रमण जटिल बन्न नदिनका लागि तत्काल राहतको कार्यक्रम घोषणा गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । कोरोना जोखिम थप नबढोस भन्नका लागि सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गरेको छ ।

नेपाल सरकारले कोभिड-१९ र लकडाउनबाट उत्पन्न बिषम परिस्थितिमा संवेदनशील भई विभिन्न क्षेत्रहरुमा तत्काल राहत कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिँदै नेता पौडेलले विभिन्न ८ सुझाव दिएका छन् ।

यस्ता छन् सुझाव:

१. कोभिड-१९ संक्रमित पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशीलता देखाईयोस ।तत्काल परिक्षणको क्षमता बृद्धि गर्न आबश्यक ब्यबस्था गरियोस,सातै प्रदेशमा परिक्षणको व्यवस्था तत्काल गरियोस, स्वास्थ्यकर्मिलाई आबश्यक सुरक्षा उपकरण ,परिक्षण उपकरण,स्वास्थ विमा उपलब्ध गराइयोस ।

२. न्यून आय भएका गरिव, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र साना तथा सामान्य व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गरि कार्यान्वयनमा ल्याईयोस ।

३.व्यवसायीहरू मार्फत नै दैनिक उपभोग्य बस्तुको सहज र सुपथ मुल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको समेत ब्यबस्था गरियोस र भ्रष्टाचार, कालोबजारी साथै कृतिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याईयोस ।

४.स्वास्थ्य उपकरणहरु खरिद गर्दा पारदर्शिता कायम गरियोस ।

५.यस समयमा खटिने अत्याबस्यक सेवाका कर्मचारी,सुरक्षा निकाय लगायतका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ विमा गरि काम गर्न अझ प्रोत्साहन गरियोस ।

६.नेपाल राष्ट्र बैंकले व्याज दर कटौती गर्दै ऋणको सावाँ तथा व्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिईयोस ।

७.नागरिकलाई बैंकिङ्ग, वीमा लगायत पूँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निशुल्क हुने व्यवस्था तत्काल मिलाईयोस ।

८.व्यवसायिले चैत मसान्तसम्म बुझाउनु पर्ने अनुमानित आयको ७० प्रतिशत कर तथा सोको विवरण बुझाउने समय २०७७ असार मसान्तसम्म कायम गरीयोस।

त्यस्तै नेता पौडलले भनेका छन्, “स्मरण रहोस छिमेकी भारतले लकडाउनबाट प्रभावित नागरिक र व्यवसायलाई मद्दत गर्न नेरू २७०० अर्बको राहत प्याकेज घोषणा गरी न्यून आय भएका गरिव, दैनिक ज्यालादारी गर्ने मजदुर र साना व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगदै वितरण गर्ने घोषणा गरी कार्यान्वयन गरीरहेको छ । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?