गर्भवतीको हवाई उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं । एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि शनिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो ।

लकडाउन भएका कारण यातायात नचलेको अवस्थामा महिलाको महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ ।

पाँच महिनाकी गर्भवती तामाङलाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो । आज बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेको शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौं सिफारिस गर्नुपरेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिए ।

यसैबीच मन्त्री गुरुङले महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिए । उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिको विशेष व्यवस्था गर्न सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?