लकडाउन अझ कडा, नछोइ यसरी पक्राउ गर्दै प्रहरी

काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकारले लकडाउनलाई अझ कडा बनाएको छ । अनावश्यक बाहिर निस्कनेलाई शुक्रबारबाट प्रहरीले उपकरणको प्रयोग गरी नछोइ पक्राउ गर्ने भएको हो ।

प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वर लगायतका स्थानबाट सोही उपकरणको सहायताले केहीलाई पक्राउ समेत गरेको बताइएको छ ।

आजबाट काठमाडौँमा नेपाल प्रहरीले नछोइकन पक्राउ गर्न सकिने डिभाइसको प्रयोग थालेको छ । सडकमा अनावश्यक रुपमा हिँडेकालाई पक्राउ गर्न काठमाडौँ प्रहरीले उक्त डिभाइसको प्रयोग थालेको हो ।

आजदेखि शुरु भएको उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ । यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ । जसका कारण मानिसलाई छोइरहनु पर्दैन । यसले रोगबाट बच्न सहयोग गर्ने विश्वास गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले बताए ।

आज पहिलो दिन छ वटा डिभाइस प्रयोग गरिएको छ । मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिँड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो । प्रहरी प्रधान कार्यालयमा भएका अन्य डिभाइसलाई समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?