२०७६, १२ चैत्र बुधबार १९:१६

लकडाउन उल्लङ्घन गर्ने १ हजार बढी सवारी नियन्त्रणमा


प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार १९:१६

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १०६३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारी गरी जम्मा १०६३ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

ती नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ ।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस