धुलिखेल,वीपी प्रतिष्ठान र वीर अस्पतालमा पनि कोरोना परीक्षण गरिने

काठमाडौं । अब कोरोना भाइरसका बिरामीको स्वास्थ्य परीक्षण धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र वीर अस्पताल गरिने भएको छ । कोरोना भाइरसका बिरामीको स्वास्थ्य परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाहेक अन्य तीन स्थानमा पनि गरिने भएको हो ।

ती अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्न लागिएको सञ्‍चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् । उनले प्रदेशस्तरमै ल्याब स्थापना नहुँदासम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने निर्णय बैठकले गरेको बताए ।

त्यस्तै, भारततर्फको सीमामा रोकिएका नेपाली नागरिकहरुलाई अन्तिम पटकका लागि आज एक दिन छाडने निर्णय गरेको छ । त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्‍वारेन्टाइनमा बस्ने सर्तमा घर जान दिने व्यवस्था गरेको उनले बताए । बैठकले स्वास्थ्य सामग्री तथा किट ल्याउन निजी क्षेत्रसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले बताए । त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्‍चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?