अपहरणमा परेका गाउँपालिका अध्यक्षको यस्तो बयान

असोज, २ असोज – ‘अपहरण गरेपछि रातभर र दिनभर जंगलैजंगल हिडाए,’, अपहरणमुक्त गरिएपछि रोल्पाको थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीले पत्रकारसँग भने, ‘हुस्सु लागेको र पानी परिरहने अनकन्टार जंगलमा जुकाले वेस्सरी टोक्यो। खुट्टाबाट रगत खुवै बग्यो। अपहरण गरिएको भोलिपल्ट बिहानदेखि दिनभर खाना समेत पाइएन्।’ जंगलको बाटोमा अलमलिएपछि घर्तीलाई नियन्त्रणमा लिएका नेकपाका कार्यकर्ता पनि भोकभोकै हिडेको प्रमुख घर्ती बताउँछन्। ‘जंगलमा खानेकुरा पाउने अवस्था थिएन। उनीहरुले पनि खाने वस्तु केही बोकेका थिएनन्,’ प्रमुख घर्तीले थपे, ‘एकजनाको झोलामा भएको एउटा स्याउ मलाई खान दिए।’ नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिका वडा नम्बर २ कोइजबाङ ससुराली घरबाटै प्रमुुख घर्तीलाई भदौ २९ गते रातको एघार बजे अपहरण गरेको सुरक्षा अधिकारीले जानकारी दिए। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घर्तीको खोजी गरिएको थियो। घर्तीलाई नेकपा कार्यकर्ताले रोल्पाका तीन पत्रकारको रोहबरमा रोल्पा नगरपालिका–१० धबाङ भनभनेबाट शनिबार साँझ छाडेको प्रमुख जिल्ला अधिकारी डा. डीजन भट्टराईले जानकारी दिए। पत्रकारको रोहबरमा मुक्त भएपछि प्रमुख घर्तीले आफूलाई सकुशल छाडेको बताए। ‘ससुराली घरबाट नियन्त्रण गर्दा अभद्र व्यवहार गरेपनि नियन्त्रण अवधिभर सम्मानजनक व्यवहार गरे’, प्रमुख घर्तीले भने, ‘जनसत्ताले सोधपुछका लागि ल्याइएको हो भन्दै थिए।’ यतिधेरै गाउँपालिकाकोे सभा उद्घाटनमा नआउने प्रचण्ड थबाङ आउन खोजेको बारे पनि चासो राखेको घर्तीले बताए। सभाको उद्घाटनमा प्रचण्ड आउने कार्यक्रमलाई प्रभावित गर्न खोजेका हुन सक्ने आंकलन गरेका छन्। नेकपाका जिल्ला सचिव दलबहादुर खत्रीले जनसत्ताले सामान्य सोधपुछको लागि बोलाएको भन्दै सकुशल छाडिएको बताए। सचिव खत्रीले दाबी गर्दै भने, ‘अपहरणको हल्ला फिजाइयो। सोधपुछका लागि बोलाएको मात्र हो। उहाँ हाम्रो सत्तामै सुरक्षित हुनुहुन्थ्यो। प्रमुख घर्तीलाई छाडिएपछि पत्रकारहरुले सदरमुकाम लिबाङ ल्याएर प्रशासनको जिम्मा लगाएका थिए। प्रमुख जिल्ला अधिकारी भट्टराई र प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले शनिबार रातको १२ बजे रोल्पा नगरपालिकाका मेयर पुरण केसीलाई जिम्मा लगाएका थिए। प्रहरीले घर्तीको अस्पतालामा स्वास्थ्य जाँच गराउँदा स्वस्थ रहेको जनाएको छ, अन्नपुर्णले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?