प्रहरी र काठमाडौं १६ नम्बर वडाको प्रशंसनिय काम : अरुले पनि सिक्ने कि !

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १६ र महानगरीय प्रहरी वृत्त लैनचौर तथा बालाजुको सयुक्त प्रयासमा वडाभर नै साबुनपानीले हात धुने तथा सरसफाईबारे सर्वसाधारणलाई जानकारी दिने प्रयास सुरु गरिएको छ ।

कोरोनाको डरले त्रसित जनतालाई साबुन पानीले हात धुने तरीका सिकाउँदै कोरोनाबारे नआत्तिन तर सचेत बन्न जानकारी गराइएको वडाअध्यक्ष मुकुन्द रिजालले बताए ।

कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसले खेलस्थल, सडक र सार्वजनिक स्थलहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ। कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ। त्यसैले सावधानी अपनाउन समुदाय प्रहरी साझेदारी अन्र्तगत नागरिकलाई सेवा दिन स्थानीय सरकारसँग हातेमालो गरेका हौँ । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख सन्तोष सिंह राठोरले लोकपथलाई बताए ।

वडाको १७ स्थानमा ट्याङ्की र साबुनपानीको व्यवस्थापन गरिएको छ । वडाका बालाजु चोक, माछापोखरी चोक , बाइसधारा प्रवेशद्वारा, वनस्थली चोक , एराहीटी, खरीको बोट, बोहराटार, माइक्रो स्टेसन , मैह्पी, कुमारीक्लब, ठमेल काठमाडौं गेस्ट हाउस सँगै, क्षेत्रपाटी चोक , बालाजु नानक मोठ प्रवेशद्वारा लगायतका स्थानमा भोलि सम्ममा सरसफाईका लागि ट्यांकी र साबुन पानी राखिने वडा अध्यक्ष मुकुन्द रिजालले बताए । उनले अभियानमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद दिँदै वडा भित्र अन्य स्थानमा पनि हातधुने ब्यवस्थापन गर्न आवश्यक परे वडा कार्यलयमा सम्पर्क गर्न अनुरोध गरे।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख १६ हजार १ सय ८६ जनालाई संक्रमण भएको छ । ९५ हजार ८२८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८८ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म४ हजार ८२५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २६१ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३४८ र स्पेनमा १३ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।

सरकारले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिँडडुल नगर्न आग्रह गर्दै पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघर जस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरिसकोको छ ।

कोरोनाभाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, संग्रालय, स्विमिङपुल, चलचित्रहल, डान्सबार तथा क्लबलाई समितिले १८ वैशाखसम्मका लागि बन्द गर्ने निर्णय भइसकेको छ । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
विभिन्न स्थानमा चेकजाँच कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?