नेपाल आइडलबाट बाहिरिएकाहरुलाई भ्याइनभ्याई, को के गर्दै छन् ?

देशभरका हजारौँ प्रतिस्पर्धीबाट सुरु भएको नेपाल आइडल ‘टप थ्री’को चरणमा पुगिसकेको छ । फ्रेन्चाइजका रूपमा नेपालमा पहिलोपटक सुरु भएको नेपाल आइडलले छोटो समयमै लोकप्रियता कमायो ।उत्कृष्ट चार प्रतिस्पर्धीका लागि ३७ लाखभन्दा बढी भोट आउनुले पनि यसको लोकप्रियतालाई प्रस्ट्याउँछ । ‘टप थ्री’का प्रतिस्पर्धी नेपाल आइडलमै भिडिरहेका छन् भने ‘टप टेन’सम्म पुगेका बाँकी ७ सहभागी पनि स्टेज कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त हुन थालिसकेका छन् । सागर आले, सुरज थापा, केन्जलमेहर श्रेष्ठ, सुजाता पाण्डेय, प्रमिला राई, विल्सन श्रेष्ठ, सन्ध्या जोशीको दैनिकी एक सेलेब्रिटीको जस्तै बनिसकेको छ ।आइडलबाट निस्केपछि सुरजको चार्म बढ्योसुरज थापा नेपाल आइडलमा निकै रुचाइएका प्रतिस्पर्धी हुन् । तर, उनी ‘टप सिक्स’भन्दा अगाडि बढ्न सकेनन् । तैपनि नेपाल आइडलबाट निस्केपछि उनलाई भ्याइनभ्याई भएको छ । ‘पहिलो एक हप्ता त काम नै विभिन्न मिडियासँग अन्तर्वार्ता दिनु भइसकेको थियो,’ उनले भने, ‘बिहानदेखि बेलुकीसम्म अन्तर्वार्ता दिँदासमेत सकिएको थिएन । त्यहीकारण घाँटीमा समस्या आएर केही दिन गीत गाउनै सकिनँ ।’नेपाल आइडलबाट बाहिरिएसँगै उनले बौद्धमा अपांगता भएकाहरूमाझ गएर प्रस्तुति दिए । त्यहाँ सुरजलाई सम्मान पनि गरिएको थियो । उनले सामाखुसीमा पुगेर एक स्कुलका विद्यार्थीलाई पनि गीत सुनाए । भोकल रिकभर भएपछि उनले ठमेलमा लाइभ म्युजिक कन्सर्ट गरेका थिए ।अहिलेसम्म १५ वटाभन्दा बढी गीत रेकर्डिङका लागि तयार रहेको सुरज बताउँछन् । उनले युके, अस्ट्रेलिया र कोरियाको कार्यक्रम फाइनल गरिसकेका छन् । अमेरिकालगायतका अरू देशबाट पनि उनलाई फोन आइरहेका छन् । सुरज देशविदेशका आफ्ना फ्यानहरू देखेर स्वयं अचम्ममा परेका छन् ।विगत १४ वर्षदेखि संगीत क्षेत्रमा निरन्तर लागेका सुरज नेपाल आइडल जानुपूर्व सूत्र ब्यान्डमा आबद्ध भई सानातिना कार्यक्रममा भाग लिने गर्दथे । उनी भन्छन्, ‘म म्युजिकविना बाँच्न सक्दिनँ र अरू काम पनि गर्न सक्दिनँ । त्यसैले, बाँकी दिनमा संगीतमै स्थापित भएर काम गर्छु । अहिलेसम्म त जसरी–तसरी संघर्ष गरिरहेकै थिएँ । अब भने केही आशा जागेको छ ।’आइटी र संगीतलाई सँगै हाँक्दै केञ्जलकेञ्जलमेहर श्रेष्ठले नेपाल आइडलको उत्कृष्ट १० सम्म आफ्नो दमदार प्रस्तुति दिइन् । जब उनी आइडलबाट बाहिरिन्, उनलाई कार्यक्रमको अफरको लहर लाग्न थाल्यो । उनले युएईको आबुधावी र कतारको दोहामा कन्सर्ट गरिसकेकी छिन् । उनी भन्छिन्, ‘अब उर्लाबारी, पोखरा, अस्टे्लिया र साइप्रसमा कार्यक्रम गर्छु ।’नेपाल आइडलमा अडिसन दिन जानुपूर्व नै उनको ‘पिच फोर्ट’ नामक ब्यान्ड थियो । उनले काठमाडौंमा चारवटा कार्यक्रम आफ्नै ब्यान्डसँग मिलेर दिइसकेकी छिन् । नेपाल आइडलबाट बाहिरिएपछि उनको तीनवटा गीत रेकर्ड भइसकेको छ । धेरैजसो समय उनी ब्यान्ड पर्फर्मेन्समै व्यस्त छिन् ।केञ्जल गायिका मात्र नभएर आइटीकी विद्यार्थी पनि हुन् । उनी बिएससी आइटीको अन्तिम परीक्षा सकेर रिजल्टको पर्खाइमा छिन् । रिजल्ट आएसँगै तत्कालै एमएससी आइटी पनि सकाउने उनको सोच छ । केञ्जल भन्छिन्, ‘आइटीसम्बन्धी काम र म्युजिकलाई सँगसँगै अगाडि बढाउँछु । दर्शकले मनपराउने खालको गीत दिने प्रयास गरिरहनेछु ।’आफ्नै कम्पोजमा गीत गाउँदै विल्सनविल्सन श्रेष्ठ नेपाल आइडलको उत्कृष्ट आठबाट बाहिरिए । नेपाल आइडलबाट बाहिरिएपछि विल्सन पनि सम्मान र रियालिटी सोमा व्यस्त रहे । अहिले आफ्नै कम्पोजमा गीत रेकर्ड गर्ने तयारीमा रहेका विल्सन भन्छन्, ‘नेपाल आइडलबाट पाएको रकस्टारको नामलाई बचाइराख्नु मेरो च्यालेन्ज हो ।’नेपाल आइडलबाट निस्केलगत्तै उनलाई सामुदायिक संघसंस्थाले सम्मान गरे । त्यसलगत्तै उनले इभिजा, कर्मा, डेजाबु क्लबमा एकल प्रस्तुति दिए । पपसंगीतमा आफ्नो करिअर बनाउने सोच राखेका विल्सन आफ्नो पढाइलाई पनि पूरा गर्दै छन् । होटेल म्यानेजमेन्टमा ग्राजुएसन सकाएका उनको विदेश गएर मास्टर्स गर्ने सोच छ । अहिले ठमेलमा उनको एउटा अनलाइन बिजनेसको काम पनि छ । उनी भन्छन्, ‘नेपाल आइडलमा गइसकेपछि करिअरले नै नयाँ मोड लियो । अब म्युजिक क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गर्ने योजना छ ।’नयाँ वर्षका लागि अहिल्यै प्याक भइन् सन्ध्यासन्ध्या जोशी नेपाल आइडलको उत्कृष्ट नौसम्म पुगेकी थिइन् । त्यसपछि उनलाई नेपाल आइडल होइन, रेकर्डिङ स्टुडियोभित्र भेट्न थालियो । उनले हालै आफ्नै रचनामा रहेको ‘यो समय’ बोलको गीत रेकर्ड गरिन् । त्यसपछि ८० जना गायकसँग ‘न्याउली’ बोलको देउडा गाइन् ।नेपाल आइडलबाट बाहिरिएलगत्तै उनले इटहरीमा कन्सर्ट दिइन् । त्यसपछि काठमाडौंमै तीनवटा च्यारिटी सो पनि गरिन् । नयाँ वर्षको लागिसमेत उनी प्याक भइसकेकी छिन् । नयाँ वर्षमा उनी दुबईको कन्सर्टमा सहभागी हुँदै छिन् ।बीचमा उनको कलेजको धेरै क्लास छुटेको थियो । तर, अब उनी पढाइलाई पनि निरन्तरता दिने योजनामा छिन् । उनी ब्याचलर इन पब्लिक हेल्थ पढ्दै छिन् । अहिले लास्ट इयरको रिसर्चको काम भइरहेको छ । त्यति मात्र होइन, सन्ध्या एउटा एनजिओमा इन्टर्न पनि गरिरहेकी छिन् ।उनले पनि गीतसंगीतकै क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् । भन्छिन्, ‘अरू काम पनि गर्छु, तर अलि बढी संगीतमै फोकस हुन्छु ।’ आफूलाई फिल्मका गीतहरू गाउने अफर पनि आइरहेको उनले जानकारी दिइन् ।प्रमिला राई दुबईमाबैंकको जागिरे प्रमिला राईलाई नेपाल आइडलले चर्चाको शिखरमा पु¥यायो । उनी उत्कृष्ट सातभन्दा अगाडि बढ्न सकिनन् । तर, नेपाल आइडलबाट बाहिरिएपछि भने उनको पनि व्यस्तता बढेको छ । अहिले उनी दुबईमा कन्सर्ट गर्न पुगेकी छिन् । नेपाल आइडलबाट निस्किएलगत्तै उनले लियोन क्लबमा कन्सर्ट गरेकी थिइन् । बाढीपीडितका लागि उक्त च्यारिटी गरिएको थियो । वेस्टर्न टोन मन पराउनेहरू प्रमिलाका विशेष फ्यान छन् ।सुजाता पनि गीत रेकर्डिङमैसुजाता पाण्डेय टप फाइभभन्दा माथि उक्लिन सकिनन् । बुटवलकी सुजाता टप फाइभमा पुग्ने एकमात्र महिला प्रतियोगी थिइन् । स्थानीय राममणि क्याम्पसमा बीबीएस अध्ययनरत् २१ वर्षीया सुजाता अहिले काठमाडौंकै स्टुडियोहरुमा गीत रेकर्ड गराउँदै गरेकी अवस्थामा भेटिन्छिन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनको फलोअर्स् बढेको छ ।समर्थकहरुको साथ खोज्दै सागरसागर आलेमाथि धेरैको विश्वास थियो, उनी पक्कै टपथ्रीमा पुग्नेछन् । तर, धेरै अनुमानहरु गलत ठहरिए । सागर टपथ्री पुग्न सकेनन् ।बाहिरिने क्षणमा आँसु खसाले पनि सागर सम्हालिसकेका छन् । उनले फेसबुक स्ट्याटसबाट आफ्ना समर्थक र शुभचिन्तकहरुप्रति आभार व्यक्त गरे । उनी देशविदेशका केही स्टेज कार्यक्रममा छिट्टै प्रस्तुत हुँदैछन् ।-नयाँ पत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?