एक वर्ष भन्दा कम जेल सजाय सुनाइएका रिहा हुँदै

काठमाडौं । विभिन्न अपराधमा अदालतबाट १ वर्षभन्दा कम कैदको फैसला सुनाइएकाहरुलाई रिहाइ गरिने भएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गर्ने सर्वोच्च अदालतले निर्णय गरेको हो । शुक्रबार बसेको सर्वोच्चका पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त गर्ने निर्णय गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ मा १ वर्षभन्दा कम सजाय पाएका व्यक्तिलाई कैदवापत लाग्ने शुल्क लिएर छाड्ने व्यवस्था छ ।

‘कुनै कसुरमा पहिलो पटक कसुरदार ठहरी १ वर्ष वा १ वर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरणसमेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा पुग्नेसमेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसवापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहराएमा कैदवापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ’, सो दफामा भनिएको छ । सोही अनुसार उनीहरुलाई छाड्न लागिएको हो ।  अहिले देशमा कोरोनाको संक्रमण नरहेपनि संक्रमणको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?