अब कनेक्ट आइपिएस ई-पेमेन्ट निःशुल्क

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य अप्रत्यक्ष/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपिएस ई-पेमेन्ट मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।

बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अन्लाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट १० लाख र मोबाईल एप्सबाट १ लाख सम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आइपिएसको फण्ड ट्रान्सफर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल/इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?