अर्को सूचना नभएसम्म प्रदेशसभाको बैठक स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिए । प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएर आज २२औँ बैठक सम्पन्न भएपछि सभामुख भण्डारीले सो जानकारी दिए।

प्रदेश वातावरण विधेयक पारित

चालू अधिवेशनमा सदन विभिन्न विधेयक पेश भए पनि आज ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ । प्र्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।

प्रदेश १ का बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आजदेखि समाप्त भएको छ । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सामाजिक विकास राज्यमन्त्री जशमाया गजमेरले बालबालिकाको अधिकारलाई व्यवस्थित गर्न विधेयकले भरपूर मद्दत गर्ने बताए । बालगृह, बालआवास तथा भ्रुण हत्याजस्ता विधेयकमा स्पष्ट व्यवस्था भएकाले प्रारम्भिक बालबालिकाको उमेर पाँच वर्ष कायम गरिएको उनले बताए। सैद्धान्तिक छलफलमा १० सदस्यले आ–आफ्नो धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?