खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । केटाकेटीले खेलाउँदै गरेको आगो हावाले उडाएर घरमा पुग्दा स्थानीयवासी लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो ।
आगलागीमा झनबहादुरको अनुमानित आठ लाख रुपैयाँ, लोकेन्द्रको पाँच लाखरुपैया, जोखेको पाँच लाख रुपैया र सीतादेवीको करीब चार लाख रुपैया बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट विस्थापितलाई आज नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ ।
आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट प्रतिघर २० केजीका दरले चामल, दाल, नून, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायत राहत सामग्री प्रदान गरिएको नगर प्रमुख इवन राईले बताउनुभयो । सल्लेस्थित वडास्तरीय विपत् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्निपीडित प्रतिपरिवार तीन हजारका दरले राहत रकमसमेत प्रदान गरेको जनाइएको छ ।
स्थानीय दूधकोशी युवा क्लबले पनि आगलागीबाट विस्थापित परिवारलाई अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको छ । आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयवासीको बिचल्ली भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया