काठमाडौं । आजको दुनियामा सञ्चार तथा ईन्टरनेटको विश्वव्यापी पहुँचले विश्व एउटा गाउँ जस्तै भईसकेको छ । पछिल्लो पुस्ताले समाज तथा आफूलाई पनि बदलि रहेको छ ।
आफूलाई सभ्य तथा शिक्षीत बनाउने क्रममा धर्म,अध्यात्मलाई बिस्तारै विर्सदै गएको तथा आफ्नो वंशले मान्दै आएको धर्म,संस्कृती,कुल पूजा र चाडपर्वहरुलाई बिस्तारै खुम्च्याउँदै गईरहेको छ । यसले मानिस आधुनिक बन्ला तर हाम्रो धर्म तथा संस्कार मासिदै गईरहेको आभास हुन थालेको छ ।
धर्म शाश्त्रमा नै टेकेर वैज्ञानिकहरुले नयाँ नयाँ कुरा पत्ता लगाईरहँदा हाम्रोसमाजमा धर्म शाश्त्रलाई भधर्मशास्त्रलाई नमान्ने मानिसहरुको जमात धेरै छ।
अध्यात्म र फलित ज्योतिषको सम्बन्ध तिनै धर्म र विज्ञानसँग जोडिएको हुन्छ । गणित र तथ्यमा आधारित भएको हुँदा ज्योतिष विज्ञान नै हो तर कतिपयले यसको फलादेश पक्ष भाव र अनुभूतिमा निहित व्याख्या हो भनेर केवल अन्धविश्वास मात्र हो भन्दछन् ।
विश्वास वा अन्धविश्वास जे माने पनि आजको यस आलेखमा ज्योतिष विद्यामा चर्चा गरिने पितृदोषको विश्लेषण गर्नको निम्ती हामी गईरहेका छौँ ।
जुन दोषले तपाईको कुण्डलीमा भएको राम्रा र शुभ योगलाई पनि प्रभावित तुल्याउने तथा तपाईको प्रगतीमा बाधा गर्दछ ।
के हो पितृदोष ?
कुण्डलीमा सूर्यसँग र राहु वा केतुको मिलन भएको अवस्थालाई पितृदोष भन्ने गरिन्छ । यस दोषको कारण मानिसले दैनिक जीवनमा बाधा,कष्ट र पीडा भोग्नु पर्दछ ।
विवाहमा विलम्ब,विवाह पछिको सम्बन्धमा दरार, समयमा काम नहुनु वा अन्तिममा आएर काम विग्रनु ,कुलतमा फस्नु, व्यवसाय परिवर्तन भईरहनु , नोकरीमा समस्या देखिरहनु, गर्भ वा गर्भधारणमा समस्या देखिनु , सुस्त मनस्थिति र दुर्वल बच्चाको जन्महुनु, जन्मिएका बालबच्चाहरु सबल नहुनु , निर्णय क्षमतामा कमी आउनु, रिसाहा तथा घमण्डी पितृदोषबाट सिर्जना हुने समस्याहरु हुन् ।
कुण्डलीमा सूर्यलाई पिता र चन्द्रमालाई माताको नैसर्गिक कारक ग्रह मान्ने गरिन्छ । सूर्य बसेको स्थान वा सूर्यबाट नवौँ स्थानबाट पिता, पैतृक सम्पत्ती, बावु छोराको सम्बन्धको बारेमा हेरिन्छ ।
चन्द्रमा वा चन्द्रमाको चौथो भावबाट माता, मातृसुख, आमाछोराको सम्बन्ध आदिको बारेमा हेरिन्छ । त्यसबाहेक ज्योतिष शाश्त्रमा सूर्य र मङ्गललाई रगत र रक्तसम्बन्धको कारक ग्रह समेत मानिन्छ ।
जब कसैको जन्मकुण्डलीमा यी दुईवटा महत्वपूर्ण ग्रह पापी,निर्वल वा अरिष्ट ग्रहका साथमा वा अशुभ भावमा बसेको अवस्था हुन्छ, त्यस्तो मानिस पितृदोषको कुनै न कुनै समस्याबाट पीडित हुन्छ ।
जन्म कुण्डलीबाट लग्न,पञ्चम र नवम भावको स्वामी ग्रह पनि व्यक्तिको व्यक्तित्व विकास र उन्नति प्रगतिमा सहयोगी ग्रह हुन् । यिनैमध्ये कुनै ग्रह निर्वल छ भने आंशिक रूपमा पितृदोष नै मान्ने गरिन्छ ।
१. सूर्य र राहु वा केतुको मिलन (पूर्ण पितृदोष)
२. सूर्य, चन्द्रमा वा लग्नेशको त्रिकस्थान ९६, ८, १२० मा उपस्थिति (आंशिक पितृदोष)
३. पञ्चमेश र राहु वा केतुको मिलन (सन्तान बाधक आंशिक पितृदोष)
४. भाग्येश र राहु वा केतुको मिलन (भाग्य बाधक आंशिक पितृदोष)
५. सूर्य र शनिको एकआपसमा पूर्ण दृष्टि वा मिलन (पदच्युत योग, पूर्ण पितृदोष)
६. मङ्गल र शनिको एकआपसमा पूर्णदृष्टि वा मिलन (मान्दी योग, आंशिक पितृदोष)
७. मङ्गल र राहु वा केतुको एकआपसमा पूर्ण दृष्टि वा मिलन (अङ्गारक योग, आंशिक पितृदोष)
८. चन्द्रमा र राहु वा केतुको मिलन (मातृदोष, आंशिक पितृदोष)
कसरि सृर्जित हुन्छ पितृदोष ?
हाम्रो परिवारमा कुनै अग्रज तथा पूर्वजको असमायिक वा अकालमा मृत्यु हुँदा, मृत्यु भईसकेपछि मृत्युवरण गर्ने मानिसको विधि विधानले अन्तिम संस्कार भएन भने वा जीवित रहँदा उसले गरेका कुनै भाकल वा इच्छा पूर्ण हुन सकेन भने त्यस्ता मृतक मानिसको आत्मा उसको बसोबास भएको घर वा वंशजका बीचमा नै भौँतारिने गर्दछ ।
त्यसरी भौँतारिएका मृत पूर्वजहरूको अतृप्त आत्माले परिवारका सदस्यहरूलाई कष्टप्रदान गरी आफ्नो इच्छा पूर्ण गर्न दबाब दिइरहेको हुन्छ ।
एकातिर यो प्रकरण व्यक्ति स्वयंले निद्रा,सपना वा अन्य कुनै प्रकारले थाहा पाएको स्थिति पनि हुन्छ भने कतिपयको जन्मकुण्डलीमा पितृदोषका रूपमा स्पष्ट देखिने पनि गर्दछ ।
शाश्त्रमा उल्लेख गरिएको छ,मानिसको मृत्यु भईसकेपछि छोरा वा आफन्तबाट काजक्रिया गर्नुपर्दछ । त्यसरि विधि पूर्वक गरिने काजक्रियाबाट मात्र मृतात्माहरू मुक्त हुने बताइएको छ ।
जसको अन्तिम संस्कार विधिवतरुपमा सम्पन्न भएको हुँदैन, कुलमा छोराको अभाव, भए पनि शारीरिक, मानसिक वा वौद्धिक रूपमा कमजोर वा अशक्त हुन्छन् ।
कुनै व्यक्तिले पिताको हत्या गर्दछ, उनलाई अपमान गर्दछ वा कुनै किसिमले मानसिक तनावमा राख्ने प्रयास गर्दछ अथवा पिताको आत्मसम्मानमा ठेस पुग्ने कुनै क्रियाकलापमा संलग्न हुन्छन् ।
जसले छोराछोरीको सुखबाट बञ्चित हुनुपर्दछ । मरणपछि सन्ततिले गरेका क्रियाकर्म र वार्षिक श्राद्ध गरेका हुँदैनन् भने मृतकको आत्माले मुक्ति प्राप्त गर्न सक्दैनन् वा तिनको आत्मा अतृप्त रहने गर्दछ ।
अतः कसैको परिवारमा आफ्ना कुनै पूर्वजको अतृप्त आत्माको कारण बनेर उसको कुण्डलीमा पितृदोष उपस्थित भएको देखिन्छ ।
पितृदोष सिर्जित भए के हुन्छ त ?
कुनै मानिसको कुण्डलीमा पितृदोष देखिएको छ भने बिभिन्न समस्याहरु जीवनमा भोग्नु पर्दछ ।
१. घरमा प्राय सधै विवाद,झगडा भइरहन्छ ।
२. धन कमाउन बढि नै संघर्ष गर्नुपर्दछ वा कमाएको धन सम्पत्ती सहि ठाउँमा सदुपयोग हुदैन ।
३. रोजगारी वा व्यवसायमा समस्या । उन्नति प्रगति, बढुवा, स्थायित्व आदिमा समस्या देखिरहन्छ ।
४. काम अन्तिम घडीमा बिग्रिरहन्छ । मिहेनत र परिश्रमको फल ढिला मात्र प्राप्त हुन्छ ।
५. रोगव्याधिको चपेटामा परिरहन्छन् । बोटबिरुवा र फूल समेत फस्टाउँदैनन् । घरमा पालेका पशु वा पंक्षीको वंशवृद्धिमा पनि समस्या देखिन्छ । छाना वा भित्तामा पीपल वा अन्य बिरुवाहरू उम्रन थाल्दछन् ।
६. क्षमता अनुसारको नोकरी पाउँदैन, उचित समयमा बढुवा वा ग्रेडिङमा समस्या देखिन्छ ।
जीवनको अधिकांश समय हातमुख जोर्नका लागि मात्र खर्चनु पर्ने परिस्थिति देखिन्छ । आफूले सम्पत्ती जोड्नु त कता हो कता ? बरु भौतिक सम्पत्ती घट्दै जान्छ ।
यी समस्या पितृदोष भएका मानिसहरुमा देखिने समस्या हुन् । तर माथि बताइएका समस्याहरूमध्ये अधिकांश समस्या तपाईको जीवनमा भोग्नु परिरहेको छ भने तपाईले तलका उपायहरू अवलम्बन गर्नु अनिवार्य छ ।
पितृदोषको निवारण
पितृदोषलाई न्यूनीकरण वा निवारण गर्न सकिन्छ । तर डिजिटल पुस्ताका मानिसहरूको व्यस्त जीवनचर्या, भौतिक जगतका सुखसुविधा र विलासिता प्रतिको मोह, श्रद्धा, निष्ठा, समर्पणभाव, आस्था र आध्यात्मिक लगावमा कमी हुनाले यी उपायको अवलम्बन गरी आफूले व्यहोरिरहेका समस्याहरु निवारण गर्न चासो दिएका हुदैनन् ।
१. प्रत्येक दिन विहान स्नान गरिसकेपछि आफ्ना मातृ पितृको नाम उच्चारण गरि दक्षिण फर्किएर तीन तीन अञ्जुली जल अर्पण गर्नु पर्दछ ।
२. अभिभावकहरुको जानी वा नजानी अपमान गर्नु हुँदैन । यदि कसैलाई जानी वा नजानी अपमान गरिएको छ वा उनको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको छ भने तिनीहरुसँग क्षमायाचना गर्नुपर्दछ ।
निजको मृत्यु भइसकेको छ भने नित्य तर्पण गरेपछि सूर्य तर्फ फर्किएर मैले जानी नजानी गरेका अपराध प्रति क्षमापाऊँ भनी क्षमायाचना गर्नु पर्दछ ।
पितृहरूसँग क्षमा माग्दा कुण्डलीमा रहेको वृहस्पति ग्रह बलियो हुन्छ, जसले सामाजिक सम्मान, वंशवृद्धि र निर्णय क्षमतामा सकारात्मक फल प्रदान गर्दछ ।
३. आफूलाई मन्त्र दिने, ज्ञान दिने वा उचित मार्गदर्शन गर्ने गुरुतुल्य व्यक्तिलाई दिनैपिच्छे प्रातः कालमा प्रणामादि वन्दना गर्ने अभ्यास गरेमा पनि पितृदोष शान्त हुन्छ । गुरुतुल्य कुनै पनि व्यक्तिसित सम्बन्ध बिगार्नु हुँदैन ।
४. कुनै धार्मिक वा परोपकारी काममा दिएको वा दान गरेको धनको सार्वजनिक उद्घोष गराउनु हुँदैन, त्यसैले यस्तो दोष भएका व्यक्तिले गुप्तदान गर्नु पर्दछ । तर अयोग्य र अनुचित ठाउँमा दान गर्नु पनि हुँदैन ।
५. पुरानो मन्दिर, कुलप्रतिष्ठान वा सामाजिक संस्थाको जीर्णोद्धार गराउनु वा जीर्णोद्धार गर्ने क्रममा सकेको सहयोग गर्नु पर्दछ ।
त्यस्तै कुनै देवीदेवताको मन्दिरमा इच्छा पूरा भएन भनेर जान वा दर्शन गर्न छाड्नु भएको छ भने पुनः त्यहाँ दर्शन गर्ने जाने अभ्यास गर्नुपर्दछ ।
६. प्रत्येक पक्षमा पर्ने एकादशी र द्वादशी तिथिका दिन पितृहरूको सम्झना गरी गरीव गुरुवा वा व्राह्मणलाई भोजन, सिदा र दक्षिणा आदि प्रदान गर्नुपर्दछ ।
७. प्रत्येक महिनामा पर्ने औंसीका दिन हविष्यान्न भोजन गर्ने, बेलुकाको छाक बार्ने (निशि बार्ने), पितृहरूको तर्पणादि गर्ने गर्नु राम्रो हुन्छ ।
अरु बेला यो कर्म गर्न सकिएन भने पनि पितृपक्षमा पर्ने अमावस्या (जमरे औंसी) मा अवश्य गर्नुपर्दछ ।
८. सार्वजनिक स्थानमा पीपल वा केराको बोट विहानको भोजनकालमा गाई, कुकुर, काग आदिलाई भोजनादि (गोग्रास) प्रदान गर्नुपर्दछ ।
अस्पताल वा वृद्धाश्रममा रहेका अशक्त र कुष्ठादि दीर्घरोगबाट थलिएका रोगीहरूको सेवा गर्नुपर्दछ । परिवारका महिलाहरूको सम्मान गर्नुपर्दछ ।
९. प्रत्येक पक्षको त्रयोदशीका दिन पर्ने प्रदोषको व्रत लिने, शिवजीको पूजाआज गर्ने र पितृहरूसँग क्षमायाचना गर्ने बानी बसाल्नु पर्दछ ।
१०. दिनैपिच्छे समय मिलाएर श्रीमद्भागवतको एकादश स्कन्ध, गीताको नवौं अध्याय वा महाभारतको शान्तिपर्वको मूल संस्कृत पाठ नियमित रूपमा गरेमा पनि पितृदोषको निवारण हुन्छ ।
११. पितृदोष निवारणका लागि जीवनमा एक पटक द्वादश ज्योतिर्लिङ्गमध्ये एक त्र्यम्बकेश्वर (महाराष्ट्र, भारत) मा गई वा नजिकै कुनै तीर्थस्थल विष्णुपादुका, कोकाकोसी सङ्गम, गोकर्ण, देवघाट, त्रिवेणी, मुक्तिक्षेत्र, वेत्रावती आदि तीर्थस्थलमा त्रिपिण्डी श्राद्ध सम्पादन गरेमा पनि पितृदोषको निवारण गर्न सकिन्छ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया