मेस्सीले रोनाल्डिन्होलाई छुटाउन ४ मिलियन खर्च नगर्ने !

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पाराग्वेमा पक्राउ परेका ब्राजिली लिजेण्ड फुटबलर रोनाल्डिन्होलाई जेलबाट छुटाउन ४ मिलियन डलर खर्च गर्ने समाचारको खण्डन गरेका छन् ।

नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका रोनाल्डिन्होलाई जेलबाट मुक्त गराउन ४ मिलियन डलर खर्च गर्ने समाचार मेस्सीले अस्वीकार गरेका हुन् ।

गत साता पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ हाल पाराग्वेको जेलमा रहेका छन् । मेस्सीले पूर्व सहकर्मी रोनाल्डिन्होलाई जेलमुक्त गराउन मोटो रकम खर्च गर्ने समाचार बाहिरिएको थियो ।

तर, मेस्सीले भने त्यसलाई अस्वीकार गरेको मिडिया द सनले जनाएको छ । मेस्सीले रोनाल्डिन्होको अवस्थामा सहानुभूति जनाएपनि आर्थिक सहयोग नगर्ने जनाएको बताईएको छ ।

मेस्सीले स्पेनिस क्लब बार्सिलोनामा रोनाल्डिन्होसँग सँगै खेलेका थिए । सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।

फिफा प्लेयर अफ दि इयर, बालोन डीओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?