आर्थिक वर्षको दोस्रो चौमासिक: प्रदेश १ काे पूँजीगत खर्च २८ प्रतिशत

काठमाडौं । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा पूँजीगत खर्च २८ प्रतिशत भएको बताएका छन् । प्रदेशसभाको बैठकमा चालु अधिवेशनको प्रथम बैठकदेखि १८औँ बैठकसम्म शून्य समयमा उठेका प्रश्नको जवाफमा उनले प्रदेश सरकारले मध्यमस्तरको योजनालाई बढी प्राथमिकता दिएको उललेख गरे ।

उनले यस प्रदेशमा १३५ स्थानीय तहमा समपूरक अनुदान र ११३ स्थानीय तहलाई ससर्त अनुदान हस्तान्तरण भइसकेको जानकारी दिँदै पूर्वाधार विकासका निम्ति विनियोजित ४७ प्रतिशत र बजेटमा ५० प्रतिशत प्रगति भएको बताए । उनले ६४ बहुवर्षीय सडक स्वीकृत भई निर्माण प्रक्रियामा रहेका, ८७ मुख्यमन्त्री ग्रामीण सडक निर्माण प्रक्रियामा रहेका बताउँदै थप १८२ सडक निर्माण गर्न प्रक्रियामा रहेको जानकारी दिए ।

मन्त्री आङ्बोले जनता आवास कार्यक्रम अपेक्षितरुपमा काम भइरहेको भन्दै कृषि र पर्यटन क्षेत्रमा सोचेअनुसारको काम नभइरहेको धारणा राखे । उनले प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट हुने प्रहरी चौकी भवनको काम सन्तोषजनक भइरहेको चर्चा गर्दै चैत महिनासम्ममा सम्झौता वा ठेक्का लागिसकेका योजनामात्र अगाडि बढाउने विश्वास दिलाए । उनले सर्वत्र असारे विकासको विरोध एवं आलोचना भइरहेकाप्रति प्रदेश सरकार सजग एवं सचेत रहेको उल्लेख गर्दै प्रदेश सरकारको संयन्त्र प्रभावकारी नभएकाले अपेक्षित लाभ लिन कठिनाइ भएको जानकारी गराए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?