राजेन्द्र लिङ्देनले पार्टीको नेतृत्व लिएर हिड्ने बेला भइसकेको छैन : कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन एउटा जिल्ला र क्षेत्रको मात्र नेता भएको बताएका छन् ।

‘विशेष परिस्थितिमा’ चुनाव जितेका लिङ्देनले पार्टीको नेतृत्व गर्ने बेला भइनसकेको थापाले बताएका छन् ।

‘टफ टक’ नामक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने क्रममा राप्रपाका तीनमध्येका एक अध्यक्ष थापाले भने, ‘विशेष परिस्थितिमा एउटा निर्वाचन क्षेत्रमा उनले (राजेन्द्र लिङ्देनले) निर्वाचन जितेका हुन्, पार्टीले जितेको हो । अहिलेलाई उनी एउटा जिल्लाको, क्षेत्रको नेता हुन् । उनलाई हामीले बिस्तारै ग्रुम गरीराखेका छौं । उनको संभावना छ तर अहिले नै पार्टीको नेतृत्व लिएर हिड्ने बेला भइसकेको छैन ।’

राप्रपाका तीन अध्यक्षहरुले निर्वाचन जितेका सांसद लिङ्देनलाई अध्यक्ष पद जिम्मा लगाए हुन्न रु भन्ने प्रश्नमा थापाले झोक्किदै यस्तो जवाफ दिएका हन् । प्रश्नकर्ताले जनमतको प्रजातान्त्रिक आधार र युवाको सम्मानको सन्दर्भ कोट्याएका थिए ।

बेला कहिले र कसरी आउछ भन्ने कार्यक्रम प्रस्तोता दिलभुषण पाठकको प्रश्नमा थापाले खुलस्त जवाफ दिएनन् । बरु लिङ्देन जस्तो पार्टीमा बीस, पच्चीस वर्ष काम गर्ने धेरै युवा नेताहरु छन् भन्ने स्पष्टीकरण दिए ।

लिङ्देन राप्रपाका एकमात्र सांसद हुन् । एमालेसँगको चुनावी गठबन्धनबाट उनले झापामा प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । एकीकरण पूर्वको तत्कालीन राप्रपामा उनी महामन्त्रीको जिम्मेवारीमा थिए ।

अध्यक्ष थापा र सांसद लिङ्देनबीच राप्रपा एकतासँगै चलेको जुहारी रोचक छ । २००६ सालदेखि थापाको निरन्तर साथमा रहेका व्यक्ति हुन् लिङ्देन । २०७४ को निर्वाचनपछि लिङदेन एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो ।

फागुन २८ गते सम्पन्न राप्रपा एकीकरण घोषणा सभामा लिङ्देनले पार्टी अध्यक्षले कार्यकर्तालाई जाँतोमा पिसेर राखेको आरोप लगाएका थिए । पार्टी नेतृत्वले कारिन्दा बनाएको, कार्यकर्ता नबनाएको भनेका थिए ।

मन्तव्यकै क्रममा लिङ्देनले भने, पार्टी नेतृत्वको स्वार्थ र टुटफुटको कारण देशमा गणतन्त्र आएको हो । अध्यक्ष थापालाई यसै पनि पार्टीको नीति सिद्धान्त तिलाञ्जली दिएर सरकारमा गएको आमजनता र कार्यकर्ताबीच आरोप छ । गणतन्त्रको संविधानलाई उत्कृष्ट संज्ञा दिएको विगत पनि थापासँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?