खेलक्षेत्रमा कोरोना प्रभाव : दर्जनौँ खेल स्थगित, धेरै खेलाडी क्वारेन्टाईनमा

काठमाडौं । गत डिसेम्बर अन्तिम साता चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले भयावह रुप लिएपछि ६ हजार ५१६ जनाको ज्यान गएको छ भने यसको सङ्क्रमण एक लाख ६७ हजार ६०५ जना मानिसमा देखिएको छ । उपचारपछि ७७ हजार ७७१ जना मानिस घर फर्किएका छन् ।
कोरोना भाइरसको सन्त्रासका कारण अहिले विश्वको खेलकुद क्षेत्र नराम्ररी प्रभावित हुन थालेको छ । जसको असर यो वर्ष आयोजना हुने ओलम्पिक प्रतियोगिता, विश्वकप फुटबलको छनोट खेलदेखि युरोपमा आयोजना हुने दर्जनौं फुटबल प्रतियोगिताहरू प्रभावित भएको छ ।

कुरा गरौ युरोपमा आयोजना हुने फुटबल प्रतियोगिताहरूको 

यो समय युरोपमा फुटबलका विभिन्न प्रतियोगिताहरूआयोजना हुने सिजन हो । यतिबेला च्याम्पियन्स लिग, ला लिगा, प्रिमियर लिग, सिरी ए जस्ता महत्वोपुर्ण प्रतियोगिताहरू आयोजना हुने गरेका थिए । तर कोरोना भाइरसको भयावहले अहिले सबै खेलहरु स्थगित भएका छन् ।
कोरोना भाइरसको संक्रमण युरोपमा अत्याधिक बढेको कारण युरोपमा आयोजना भइरहेको युरोपा लिगका खेलहरू रंगशालामा दर्शकविहीन बनाएर आयोजना गरीएको थियो ।

तर कोरोनाको संक्रमण खेलाडिहरुमा पनि देखिएपछि खेलहरु स्थगित गरीएको छ । कोरोना भाइरसका कारण स्पेनिस ला लिगा फुटबलका खेलहरु पनि स्थगित भएका छन् । स्पेनिस फुटबल संघले कोरोनाको सन्त्रासका कारण ला लिगाका दुई चरणको खेल स्थगित गरिएको जनाएको छ । ला लिगाको खेल स्थगित भएसँगै रियल म्याड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा पठाइएको छ । गत फाल्गुन २६ आईतबार राति भएको युभेन्ट्स र ईन्टर मिलानबीचको खेल खाली रंगशालामा खेलाईएको थियो ।

कुन कुन खेलाडी संक्रमित ?

पाउलो डिबला :


इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबलालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इटालियन मिडियाले डिबलालाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै डिबला अहिले आफै आइसोलेसनमा बसेको समेत दाबी गरेको छ ।

डानिली रुगानी :


इटालियन क्लब युभेन्ट्सका फरवार्ड डानिली रुगानीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इटालियन मिडियाले डिबलालाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।

प्याट्रिक कट्रोन :


ईटालियन क्लब फिओरेन्टिनाका फरवार्ड प्याट्रिक कट्रोनलाई कोरोना भाईरसको संक्रमण देखिएको पुष्टि भएको छ । प्रिमियर लिग क्लब उल्भ्सका लोनका खेलाडी कट्रोनलाई परिक्षणको क्रममा पोजेटिभ देखिएको हो । योसँगै फिओरेन्टिनाका दुई खेलाडी कोरोनाबाट संक्रमित रहेको पुष्टि भएको छ ।

कलुम हड्सन :


इङ्लिस क्लब चेल्सीका फरवार्ड कलुम हड्सन ओडोइलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । चेल्सीले एक विज्ञप्ति निकाल्दै हड्सनमा कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । चेल्सीले हड्सनमा कोरोना देखिएपछि अन्य खेलाडी र स्टाफलाई क्वारेन्टाइनमा राखेको छ ।

क्रिस्टियानो रोनाल्डो :


कोरोनाका कारण पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् । रोनाल्डो आफ्नी आमालाई भेट्नका लागि पोर्चुगल गएका बेला उनलाई क्वारेनटाइनमा राखिएको हो । तर रोनाल्डोमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ ।

लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भाईरस संक्रमणको लक्षण
कोरोनाको लक्षण देखिएपछि तीन जना खेलाडीलाई क्वारेन्टाईनमा राखिएको छ । तीनै खेलाडीलाई टिमबाट बाहिर राखिएको छ । मुख्य प्रशिक्षक ब्रेन्डन रोजगर्सले संक्रमणको आशंका गरिएका खेलाडीको विवरण नखुलाएपनि क्वारेन्टाईनमा राखेर उपचार प्रक्रिया अघि बढाएको बताएका छन् ।

रियल म्याड्रिडका खेलाडी :
ला लिगाको खेल स्थगित भएसँगै रियल म्याड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा पठाइएको छ ।

आर्सनलका मुख्य प्रशिक्षक मिकेल :


आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रिमियर लिग क्लबका प्रशिक्षक अर्टेटालाई चेकजाँच गर्दा कोरोनाको संक्रमण देखिएको हो ।

मुख्य प्रशिक्षकलाई नै कोरोना संक्रमण देखिएपछि आर्सनलले त्यसको अघिल्लो शनिबार ब्राईटोनविरुद्धको खेल नै स्थगित गरिएको छ ।
आर्सनलले पछिल्लो समय क्लबका अन्य सदस्यलाई पनि कडा निगरानीमा राखेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण खेलकुद जगतमा पनि धेरै असर गरेको छ ।

विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३
फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ ।

बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो । फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकूद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । पछिल्लो खेल तालिकाअनुसार नेपालले पनि छनोट खेलमा सहभागी हुने कार्यक्रम छ ।

ओलम्पिक पनि द्विविदामा :
जापानको टोकियो सहरले यो वर्षको जुलाई २४ तारिखदेखि आयोजना गर्न लागेको ओलम्पिक प्रतियोगिता पनि हुन्छ कि हुँदैन भन्ने द्विविदामा छ । जापानका प्रधानमन्त्री सिन्जो आबले टोकियो ओलम्पिकका खेल जुलाईमै योजनाबद्व तरिकाले अघि बढाउने बताएका छन् । कोरोना भाईरसका कारण खेल ईभेन्टहरु स्थगित भईरहेको समय जापानी प्रधानमन्त्रीले योजना अनुसार जुलाईमा प्रतियोगिता अघि बढ्ने बताएका हुन् । अबेले अन्तराष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्ने समेत बताएका छन् ।

कोरोनाकै कारण ओलम्पिक प्रतियोगिता सर्ने आशका भईरहेको समय जापानी प्रधानमन्त्रीले ओलम्पिक आयोजनामा प्रतिबद्व रहेको जनाएका हुन् । टोकियो ओलम्पिक आयोजन गर्न करिब १ दशमलव ३५ ट्रिलियन येन खर्च हुने अनुमान छ । ओलम्पिक टर्च रिले जापानको क्षेत्र फुकुसिमामा मार्च २६ बाट सुरु हुदैछ ।

अमेरिकामा पनि सम्पूर्ण खेलकुद गतिविधि स्थगित :
अमेरिकामा पनि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको छ । कोरोनाले महामारीको रुप लिएपछि अमेरिकाले कम्तिमा एक महिनाको लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको हो ।

खेलकुद गतिविधि बन्द भएसँगै अमेरिकाको मेजर लिक सकर ९एमएलएस० लिग फुटबल, एनबीए, नेसनल हक्की र मेजर लिक बेसबलको खेलहरु स्थगित भएको छ । कोरोनाको कारण पछिल्लो समय विश्वभरका खेलकुद गतिविधि समेत प्रभावित भएको छ । ओलम्पिक, युरोकप लगायतका खेलकुदका केहि ठुला प्रतियोगिता समेत स्थगित गर्ने तयारी भईरहेको छ ।

मोरक्कोमा सम्पुर्ण खेल गतिविधि स्थगित :
मोरक्को फुटबल महासंघले फुटबल सम्बन्धि सम्पुर्ण गतिविधि स्थगित गरेको जनाएको छ । विश्वमा महामारीको रुपमा फैलदो कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सुचना जारी नभएसम्मका लागि सम्पुर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो । महासंघले पछिल्लो निर्णयले सबै प्रकारका फुटबल गतिविधि प्रभावित बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?