नेकपा (माओवादी केन्द्र) ले भन्यो – देशभक्त जनसेना निर्माण आवश्यकता बढेको छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको बताएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाली जनतासमक्ष देशभक्तिपूर्ण संस्कृति निर्माणको सशक्त आह्वान गर्दै पार्टीले हालै आयोजना गरेको ‘मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान’ सफलतापूर्वक सम्पन्न भएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किरातीले यस्तो बताएका हुन् ।

अध्यक्ष किराँतीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडीखेलमा झुण्डयाउने समेत उद्घोष गरे ।

अध्यक्ष किराँतीको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो । केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष क. गोपाल किराती, प्रदेश १ अध्यक्ष क. विमल निरौला, प्रदेश ३ उपाध्यक्ष क. प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष क. शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष क. कुमार राई बान्तवा थिए । उक्त अभियानमा प्रदेश २ अध्यक्ष क. बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष क. अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज क. रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ कमरेडहरुले ऐतिहासिक यात्रा गर्नुभयो ।’

मेची–महाकाली पैदल यात्राको आफ्नो पार्टीको अभियान ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे । ‘हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा बस/गाडी प्रयोग गर्नु परेको मेची–महाकाली पैदल अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो ।’–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?