काठमाडौ । चितुवा हात्तीलगायत जङ्गली जनावरले देशका विभिन्न भागमा बालबालिका मार्ने, नागरिकलाई दुख दिनेलगायत गरेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद प्रकाश पन्थले कोरोना भाइरसको सन्त्रास फैलिरहेका बेला सरकारले तयारी नगरेकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराए । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेकाले समयमै सतर्क हुनुपर्ने उनको भनाई छ ।
तनहुँमा चितुवा आक्रमणले दुई वर्षभित्र नौ बालबालिकाको निधन भएकाले समस्या समाधान गर्न उनले माग गरे । भानु नगरपालिकाका बालबालिकाको निधन भएको हो । शुक्लागण्डकी नगरपालिकालगायत स्थानीय तहका बालबालिकालाई चितुवाले आक्रमण गर्ने गरेका छन् । बुधबार बेलुकी पनि एक बालकलाई ३० मिटरसम्म चितुवाले घिसार्दा आमाले बचाएको सांसद पन्थले जानकारी गराए ।
सांसद देवेन्द्र दाहालले झापाको दमक मालपोत कार्यालयमा कर्मचारी अभाव हुँदा जग्गापासका लागि जनताले दुख पाइरहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न माग गरे । उनले अनलाइनबाट जग्गापासको प्रणाली ल्याइँदा इन्टरनेटको अभावलगायत कारणले जनताले सास्ती व्यहोरिरहेकाले समस्या समाधान गराउन सरकारको ध्यानाकर्षण गराए । इटहरीबाट पूर्व जाँदा फोहर, यसैगरी काठमाडौँमा पनि चावहिलबाट पूर्व जाँदा विकास निर्माणका काम अलपत्र परिरहेकाले छिटो काम गरिनुपर्नेमा जोड दिए ।
सांसद गङ्गा बेल्वासेले आठ मार्चमा मनाइने श्रमिक महिला दिवस औपचारिकतामा मात्र सीमित भएकाले त्यसो हुन नदिन माग गरे। सांसद डा बिमला राई पौडेलले बोतल कुहिन ४५० वर्ष लाग्ने, अझ कुनै प्लास्टिकको बोतल कुहिन एक हजार वर्ष लाग्ने, कुनै कुनै बोतल त नकुहिने, यो बाल्दा वातावरणमा क्यान्सर रोग लाग्ने ग्यास उत्पादन हुने भएकाले सिंहदरबारलाई प्लास्टिकको बोतलरहित घोषणा गर्न माग गरीन ।
प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभामा अध्यक्षले रुलिङ गरेर प्लास्टिकका बोतल निषेध गरी सिसाको गिलास वा अन्य वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । संसद् सचिवालयले नै प्लास्टिक बोतलरहित बनाउन पनि पहल गर्नसक्नेतर्फ सांसद राईले ध्यानाकर्षण गराइन्।
सांसद भगवती न्यौपानेले विकास र समृद्धि चाहने र नचाहनेबीच विवाद हुने गरेको बताइन् । सांसद शेखरकुमार सिंहले तराई क्षेत्रको सप्तरीदेखि पर्सासम्म हात्ती आतङ्क हुने गरेकाले व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्। यो क्षेत्रमा वर्षाका बेला आउनसक्ने बाढी नियन्त्रणका लागि अहिलेदेखि काम शुरु गर्न पनि उनले माग गरे ।
सांसद हरिराम चौधरीले सरकारले माध्यमिक तहसम्म निःशुल्क घोषणा गरे पनि कार्यान्वयनमा नरहेको बताइन् । उनले धेरै सामुदायिक विद्यालयमा अहिले पनि दरबन्दी रिक्त रहेकाले यथाशीघ्र पूर्ति गर्नुपर्नेमा जोड दिए । सांसद नन्दा चपाइँले सुर्खेतलगायत जिल्लामा बाढी प्रभावित जनता अझै पालमुनि बसिरहेकाले छानामुनि ल्याउन माग गरिन्।
सांसद रामनारायण विँडारीले संसद्मा सबै मन्त्रालयका प्रतिनिधि आएर बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराए । मन्त्रीलाई सांसदले उठाएका सवालको जवाफ दिने व्यवस्था संसद्ले मिलाउनुपर्ने उनको माग थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया