सभापति देउवाद्वारा शेर्माको निधनप्रति दुख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा (लिम्बू)को निधनप्रति दुःख व्यक्त गरेका छन्। नेता शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । नेता शेर्माको निधनले अत्यन्त दुखित र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले शेर्माले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा कांग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै सभापति देउवाले उनको निधनबाट पार्टीले एक निष्ठावान् नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

शेर्मा विसं २०३६ को जनमत सङ्ग्रहमा बहुदल प्रचारप्रसार समिति पाँचथरको अध्यक्ष र भूपूसांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए। उनी विसं २०४८ असार १२ गते राष्ट्रियसभाको सांसद भएका थिए।

पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति रहेका शेर्मा दुईपटक काँग्रेस केन्द्रीय सदस्य भएका थिए । विसं २०४२ को सत्याग्रहमा काठमाडौंमा पक्राउ परी झापा चन्द्रगढी जेलमा छ महिना जेल जीवन विातएका स्व शेर्मा २०४६ मा प्रजातन्त्र बहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेलजीवन विताएका पार्टी कार्यालयले जनाएको छ ।

पाँचथरको साराङडाँडा—७ निगालेमा विसं २००० असोज १२ गते जन्मिएका शेर्माका पत्नी, दुई छोरा र पाँच छोरी छन् । उनको पार्थिव शरीर शुक्रबार बिहान ९ः०० देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?