एकता अघि दुई राप्रपाकाे बैठक: फुटकाे वातावरण अब नहाेस्

काठमाडौ । पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा राप्रपा र राप्रपा संयुक्तको बैठक बसेको छ । राप्रपाको बैठक पार्टी कार्यालय धुम्बाराही र संयुक्तको चाबहिलमा बसेको हो ।
शनिबार दुई राप्रपाबीच पार्टी एकता गर्नेसम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएपछि बुधबार एकीकरण घोषणा हुँदैछ ।

एकीकरणअघि दुबै पार्टीको अन्तिम बैठक बसेको हो ।
राप्रपा संयुक्तको केन्द्रीय समिति र उपलब्ध जिल्ला सभापतिसहितको बैठकमा सहभागीहरुले पार्टी एकताको स्वागत गर्दै दुई पार्टी अब फुट्न नहुनेमा जोड दिए ।
यस्तै एकीकृत पार्टीको केन्द्रीय समितिमा महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने, चुनाव चिन्ह हलो हुनुपर्ने, भ्रष्टाचारविरुद्ध लाग्नुपर्नेलगायतमा जोड दिएका थिए ।
उनीहरुले राष्ट्रियता र सीमानाका विषयमा पार्टी गम्भीर हुनुपर्नेमा जोड दिँदै नेकपा र नेपाली काँग्रेसले जनभावना अनुसार काम गर्न नसकेको अवस्थामा राप्रपाको लागि अवसर बन्नसक्ने धारणा राखे ।

सो अवसरमा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले वडावडासम्म संगठन बनाएर गइने बताए । उनले अब पार्टी नफुट्ने पनि उद्घोष गरे ।
यस्तै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टी प्रजातान्त्रिक मूल्य मान्यताको आधारमा अघि बढ्ने स्पष्ट पारे । उनले पार्टी, भ्रष्टाचारविरुद्ध उभिने बताउँदै पार्टीमा दोस्रो पुस्ताको आकर्षण बढाउन कार्यक्रमहरु सञ्चालन गरिने पनि बताए ।

यसैगरी राप्रपाको अन्तिम बैठकमा अध्यक्ष कमल थापाले एकताको महत्व र आवश्यकताबारे चर्चा गर्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइनुपर्नेमा जोड दिए ।
यस्तै उनले राप्रपाको अध्यक्षको रुपमा विगतमा आफूलाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?