काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।
निर्माण कम्पनीले काम गर्न छाडेर जाँदा निर्माणस्थलमा गिट्टी, बालुवा, डण्डीलगायतका निर्माण सामग्री थिए । तीमध्ये गिट्टी र बालुवा प्रयोगमा आए पनि अरु प्रयोगमा ल्याउने अवस्था नरहेको आयोजनाले जनाएको छ । लामो समयसम्म खुला राखिएकाले ठूलो परिमाणमा सिमेन्ट प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।
झण्डै ७० लाख रुपैयाँ रकम बराबरको सिमेन्ट बिग्रिएको उनले बताए । उनले, “अहिलेसम्म निर्माणस्थलमै रहेको सिमेन्टलाई व्यवस्थापन गरिनेछ ।” यहाँ रहेका फलामका डण्डीमा खिया लागेको छ । यहाँ रहेका डण्डी सिमेन्ट पूरै काम नलाग्ने अवस्थामा पुगिसकेको छैन । विभिन्न किसिमका अस्थायी संरचनामा मात्रै डण्डी प्रयोग गर्न सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए ।
निर्माणस्थलमा अहिले झण्डै ९० लाख रुपैयाँ बराबरको डण्डी रहेको छ । उनले भने, “डण्डी एकडेढ वर्षसम्म उसै रहेकाले खिया लागिसकेको छ ।” यहाँ रहेको बालुवा र गिट्टी भने प्रयोगमा आइरहेको छ । आयोजनाले अहिले निर्माण गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बिक्री गरिरहेको छ । त्यहाँबाट आएको रकम सम्बन्धित आपूर्तिकर्तालाई नै दिइएको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । निर्माणस्थलमा एक हजार गाडी बालुवा र गिटी रहेको पाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया