मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा आज झापा ११ फुटबल क्लब माथि १–० को साँघुरो अन्तरको जीत निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६ औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता बनायो ।
मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिवक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो । खेलमा विष्टको एक मात्र गोलनै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटर फाइनलबाटनै बाहिरियो । सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र सङ्कटाबीचको खेलको विजेतासँग खेल्नेछ ।
खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा झापाका सुनिल खड्काको शक्तिशाली प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले मुस्किलले पञ्च गरेर बाहिर फाल्नुभएको थियो । नियमित समयको अन्तिम मिनेटमा मनाङका फरवार्ड विमल रानाले ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न असफल हुनुभयो । खेलमा निर्णायक गोलकर्ता मनाङका विष्ट ‘म्यान अफ दि म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।
खेलपछिको पत्रकार सम्मेलनमा पराजित टोलीका प्रशिक्षक सन्तोष गुरुङले टोलीका सरोज कार्की, अङ्कुर तामाङ र प्रमोद चौधरी घाइते भएकाले प्रदर्शनमा असर पुगे पनि समग्रमा खेल राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।
मनाङका विदेशी प्रशिक्षक फुजा टोपेले खेलमा जीत हात पारेपनि खेलाडीको खेलबाट आफू सन्तुष्ट हुन नसकेको बताउनुभयो । धरानमा खेलेको पाँच दिनपछि पोखरामा खेल्न आएको र खेलाडीलाई बढी आराम भएको र अभ्यास नहुँदा प्रदर्शन सोचेअनुसार नभएको उहाँको भनाइ थियो । प्रतियोगिताअन्तर्गत सोमबार थ्रीस्टार क्लब र गान्टोक सिटी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया