चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन् । नेकपा चितवनको सचिवालय बैठकमा आज चितवनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्याग्न अनुरोध गरे ।
बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष दाहालले भने, “माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ ।” शीर्ष नेतामा कुनै समस्या नभएको भन्दै उनले ‘हामी मिलिहाल्छौँ तपाईंहरुमा समस्या आयो र मिल्नु भएन भने मिलाउन कठिन हुन्छ’ भने । तल्लो तहमा पार्टी निर्माणमा लाग्न अध्यक्ष प्रचण्डले जिल्लालाई निर्देशन दिए । उनले भने, “तपाईंहरु पार्टीको खम्बा हो, जनस्तरमा पार्टीको कार्य योजना, सरकारको काम, पार्टीले खेल्नुपर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्नु छ ।”
कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै उनले ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौँ तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ’ भनेर सल्लाह दिनसमेत अध्यक्ष प्रचण्डले आग्रह गरे । सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उनले अनुरोध गरे । “अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारका लागि अस्पतालमा हुनुहुन्छ त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ”, अध्यक्ष दाहालले भने, “हामीले एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका छौँ त्यो कार्यान्वयन हुनेछ त्यसमा दुई मत हुदैँन ।”
पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामको विषयमा जनस्तरसम्म लैजान उहाँले सबैलाई निर्देशन दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया