यी प्रेरणादायी आमाहरु जसलाई प्रगति गर्न समाजले छेक्न सकेन…(भिडियो सहित)

काठमाडौं । ह्यासट्याग स्माइलका विभिन्न अङ्कमा हामीले प्रेरणादायी व्यक्तित्वहरुको जीवनकथा भिडियो कथा मार्फत् पस्किँदै आएका छौं । यही यात्रामा त्यस्ता केही आमाहरुसँग पनि भेट भयो जसको जीवन, भोगाइ, संघर्ष र सफलताका सानासाना किस्साहरु समेट्दै बुनेका कथाहरु साँच्चै नै लोभलाग्दा छन् । सुन्नैपर्ने, हेर्नैपर्ने, बुझ्नैपर्ने र मनन गर्नैपर्ने किसिमका छन् । आजको यो अंक हामीले तिनै आमाहरुलाई समर्पण गरेका छौं । नछुटाइ पढ्नुहोला र हेरिदिनुहोला ।

लक्ष्मी भुसाल

लक्ष्मी भुसाल अर्थात् रेडियोकी ‘बुढी आमा’ । विगत ५३ वर्षदेखि ‘बुढी आमा’ को भूमिकामा रेडियो नेपालको कृषि कार्यक्रम चलाउँदै आएकी लक्ष्मी भुसाललाई ‘हरि शरणम् बुढी’ भनेर पनि चिन्ने गर्छन् स्रोताहरुले । रेडियोका पारखीका लागि उनको आवाज प्रिय छ । त्यस आवाजमा उनीहरुले अपनत्व महसुस गर्छन् । साँझ ६ः४० नहुँदै रेडियो बटार्छन् बुढी आमाका गन्थन सुन्न । उनै ‘बुढी आमा’लाई भेट्न हामी पुग्यौं उनको सबैभन्दा प्रिय ठाउँ जहाँ उनी नाचिन्, गायिन्, खेलिन्, उफ्रिन् र सम्झिन लायक एउटा जीवनकथा कोरिन् ।

लक्ष्मी भुसालको पूरा कथा : रेडियो नेपालकी बुढी आमै, जसले सबथोक गुमाएर एकथोक कमाइन्

इन्दिरा साप्कोटा

छोरीलाई अक्षर नचिनाइ ‘कुटुम्ब’ चिनाउने त्यो समयमा जन्मिएकी इन्दिराले देशविदेशका बारेमा कुरा गरिरहँदा, इलम गर्नुपर्छ, सबैले शिक्षा पाउनुपर्छ भनिरहँदा अचम्म लाग्नसक्छ । उनको बोलीचाली, हाउभाउ मात्र होइन जीवन पनि त्यसवेलाका ‘हजुरआमा’सँग पटक्कै मेल खाँदैन । ब्वाइज कट कपालमा ठाँटिएकी उनको जीवन नै ‘विद्रोह’को वरिपरि घुमिरह्यो । चाहे त्यो छोरी भएर स्कुल गएकोमा होस् या बुहारी भएर आम्दानीका लागि घरबाहिर कदम राख्दा अथवा आमा भएर छोराहरुलाई त्यागेर बुढेसकालमा एक्लो जीवन बिताउँदा । ८१ वर्ष यी आमाको जीवनबारे अझै जान्न चाहनुहुन्छ भने ह्यासट्याग स्माइलको यो अंक नछुटाउनुहोला ।

इन्दिरा सापकोटा पूरा कथा : ८१ वर्षकी आमै : ठमठम हिँड्दै, लाखौँ कमाउँदै र कमाउन सिकाउँदै

भद्रकुमारी घले

८८ वर्षकी भद्रा अझै पनि खरो स्वभावकी छिन् । छोरीहरुको अस्तित्व पुरुषसँग गाँसिएपछि मात्रै सार्थक हुने त्यस समयमा भद्राले पुरुषसँगै प्रतिष्पर्धा गरी आफ्नो पहिचान बनाइन् । राजनीति, समाजसेवा, साहित्य र चित्रकला जस्ता विभिन्न क्षेत्रमा फैलिएको छ उनको आयाम ।
तिनै भद्राकुमारी घलेको जीवनकथा आजको ह्यासट्याग स्माइलमा प्रस्तुत गरेका छौं ।

भद्राकुमारी घलेको पूरा कथा : भद्राकुमारी घले अर्थात् कथा र संघर्षको सिङ्गो सङ्ग्रहालय

लक्ष्मी शर्मा

दोब्बर उमेरको मानिससँग बालविवाह, छोरीहरु जन्मिँदा श्रीमान अर्को युवतीसँग सम्बन्धमा, सम्बन्धविच्छेद, अभिभावकत्व सम्हाल्नु, अर्काको घरमा काम गर्नु, टेम्पो चलाउनु, टेम्पो व्यवसायलाई बढाउँदै आफ्नै उद्योग स्थापना गर्नु, सफल उद्यमी बन्नु…८ फिल्मको कहानी जस्तै लाग्ने यो कथा हो लक्ष्मी शर्माको । एसियाकै पहिलो महिला टेम्पो चालकदेखि सफल उद्यमीसम्मको उनको यात्रा र भोगाइलाई समेटेका छौं ह्यासट्याग स्माइलको यस एपिसोडमा ।

लक्ष्मी शर्माको पूरा कथा : भूमरीमा अल्झिएको जीवन उद्यमी बनेर रहरलाग्दो बनाएकी लक्ष्मीको प्रेरणादायी कथा

यी पौरखी र उद्यमी आमाहरुको कथा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?