तीन वर्षीय बालिका जसले बम विस्फोट हुँदा हाँस्न सिकिन् (भिडियोसहित)

काठमाडौं । सिरियामा बम विस्फोट भएको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ ।

साल्वा नाम गरेकी ती बालिकाकालाई उनका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए ।

गत महिना उनी हाँसेको भिडियो भाइरल भएको थियो । भिडियोका कारण उनी निक्कै चर्चामा आएकी थिइन् । त्यो भिडिओमा युद्धक विमानले बम आक्रमण गर्दा विस्फोटन भएको सुनेर उनी घरभित्र हाँसिरहेको देखिन्छ ।

त्यसको एक हप्तापछि टर्कीको सरकारले बालिका र उनका अभिभावकलाई सीमा पार गरेर टर्की जान सहयोग गरेको बुझिएको छ ।

द गार्डीअन पत्रिकाकी संवाददाताले मङ्गलवार साल्वा र उनका पिताको तस्बिर ट्वीट गरेकी थिइन् । ‘जीवनमा पहिलो पटक उनी सामान्य कुरामा हाँस्न सक्छिन्’, उनले लेखेकी छन् ।

आफूहरूले भिडियोमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई सन्देश पठाउन खोजेको अब्दुल्लाले टर्कीका सञ्चारमाध्यमलाई बताएका छन् । अब साल्वाले विद्यालय जाने अवसर पाउँछिन् भन्दै उनले टर्कीमा शरण पाएकोमा प्रसन्नता व्यक्त गरेका छन् ।

‘मलाई आशा छ कि सिरियामा जारी द्वन्द्व चाँडै समाप्त हुनेछ र म सिरिया फर्किन पाउनेछु’, एनाडोलु समाचारसंस्थाले प्रकाशन गरेको समाचारमा अब्दुल्लालाई उद्धृत गरिएको छ ।

टर्कीले ३७ लाख सिरियालीलाई शरण दिएको छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् 

 

 

एजेन्सी

तस्वीर : गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?