काठमाडौं । जिल्लाका तीन स्थानमा स्थायी प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार जिल्लाका तीन स्थानमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली राजमार्गअन्तर्गत जिल्लाको तातोपानी गाउँपालिका कार्यालय रहेको स्थान लिताकोट र डोल्पा जाने सडक क्षेत्रको गुठीचौर गाउँपालिकाको कार्यालय रहेको क्षेत्र झारज्वालामा प्रहरी चौकीको उद्घाटन गरेका हुन् ।
सङ्घीय संरचनाअनुसार गाउँपालिकाको कार्यालय र जनताको सेवाका लागि प्रहरी चौकी स्थापना गरिएका हुन् । यसैगरी नाग्म गमगडी राजमार्गको बड्कीमा यस अगावै प्रहरी चौकी उद्घाटन गरिएको थियो ।
स्थानीय तहमा प्रहरी निरीक्षक रहने
मन्त्री भण्डारीले अब वैशाख सम्ममा प्रदेश प्रहरी आउने र समायोजन हुने भएकाले गाउँपालिकाको केन्द्रमा प्रहरी निरीक्षक सहितको टोली कल्पना गरिएको जानकारी दिए । यसैगरी प्रदेश सरकारले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागिरहेको भन्दै मदिराको मात्रा, स्थान र निश्चित व्यक्ति तय गरिनेमा उनले जोड दिए ।
जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले समाजमा हिंसा कम गर्न शान्तिसुरक्षा कायम गर्न नागरिक र प्रहरी सहकार्य आवश्यक भएको जानकारी गराए । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले प्रहरी चौकी हुनु शान्तिसुरक्षा प्रभावकारी रहेको बताए ।
उनले तातोपानी पर्यटकीय क्षेत्रसमेत भएकाले शान्तिसुरक्षाको आवश्यकता भएको बेला सरकारले स्थायी प्रहरी चौकी स्थापना गर्न सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जिल्लाको आवश्यकता अनुसार हिमा गाउँपालिकाको बड्की, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा स्थायी प्रहरी चौकी स्थापना भएको जानकारी दिँदै प्रदेश सरकारले र स्थानीय सरकारले आवश्यक जनशक्ति तथा स्रोतसाधनमा सहयोग गर्ने अपेक्षा गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया