फेवाताल सफा गर्न सवा करोडको मेसिन

पोखरा, १८ माघ- प्रमुख पर्यटकीयस्थल पोखराको फेवातालमा रहेको जलकुम्भी र फोहोरको सफाइ अब मेसिनले गर्ने भएको छ । वर्षायाम सुरुसँगै तालमा देखिने जलकुम्भी झारका कारण कुरूप देखिने फेवाताललाई सुन्दर बनाउन १ करोड २५ लाख लागतमा मेसिन खरिद गरिएको हो मेसिनले झारसँगै तालमा तैरिएको फोहोरसमेत सफा गर्नेछ । पोखरा–लेखनाथ महानगरपालिकाको ७५ लाख र निर्वाचन क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ लगानीमा सो मेसिन खरिद भएको हो महानगरकी उपमेयर मञ्जुदेखी गुरुङका अनुसार ताल सफा गर्ने उद्देश्यसहित क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्वेस्टिङ मेसिन ल्याइएको हो । यो मेसिन नेपालमै पहिलो रहेको उनको दाबी छ । मेसिनमार्फत बाराहिघाटबाट तालको सफा गर्ने काम सुरु गर्ने उपमेयर गुरुङले बताइन् । उनले भनिन्, ‘मेसिनको प्रयोगसँगै वर्षायाम सुरुपछि कुरूप बन्ने ताललाई सुन्दर बनाउन सहयोग मिल्छ ।’ बुधबार परीक्षणसमेत गरिएको थियो । मेसिनले तालमा तैरिएको फोहोर सहजै रूपमा सफा गरेको थियो, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?