२०७४, १७ माघ बुधबार १४:४७

पैसा कमाउन युट्युबमा अश्लील भिडियो! के भन्छन् फिल्मकर्मी?


प्रकाशित मिति : २०७४, १७ माघ बुधबार १४:४७

अनिल थापाचलचित्र निर्माण स्वतन्त्रताको माध्यम हो र यसमा सेन्सर लगाइनु हुँदैन भन्ने आवाज नेपाली सिने क्षेत्रमा केही फिल्मकर्मीले उठाउँदै आएका छन् बेलाबेलामा । अर्कातिर चलचित्र समाजको ऐना हो र फिल्मले गलत सन्देश दिनु हुँदैन, त्यसैले सेन्सर लगाइनुपर्छ भन्ने आवाज पनि एकथरीले बोल्दै आइरहेका छन् चलचित्रमा सेन्सर लगाइनुपर्छ र लगाइनु हुँदैन भन्ने फिल्मकर्मीबीच विवाद रहँदै आएपनिसेन्सर भने लगाइँदै आएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म हेरिसकेपछि दर्शकलाई असर पार्न सक्ने दृश्य र संवाद हटाउने गर्छ । फिल्ममा सेन्सरलाई लिएर विवाद भइरहेका बेला अहिले भने युट्युबमा पनि पनि शर्ट फिल्म (लघु चलचित्र) मा पनि सेन्सर लगाइनुपर्छ भन्ने आवाज उठ्न थालेको छ युट्युबमा नेपाली शर्ट फिल्म खोज्दा रिजल्टमा देखिने द्वीअर्थी र अश्लील लाग्ने भिडियोलाई नै शर्ट फिल्म भनेर युट्यबले चिनाउँदै आएको छ त्यसो त युट्युबकै पोलिसीले पनि त्यस्ता खालका विषयलाई अपलोड गर्न आधिकारिक मान्यता दिँदैन । त्यसैले पनि युट्युबमा कतिपयले झुक्किने खालका लघु चलचित्रको नाम राखेर भित्र विकृतिजन्य भिडियो बनाएका हुन्छन् । युट्युबमा धेरै हेरिएका भिडियोबाट आम्दानीसमेत गर्न सकिने भएकाले यस्ता खालका भिडियो निर्माण भइरहेको जानकारहरू बताउँछन् केही समयअघि गुगलले नेपाली समाचार साइटलाई पनि विज्ञापन (एडसिन) दिने गरेको थियो तर समाचारका नाममा धेरै फेक साइट र समाचार बन्न थालेपछि नेपाललाई दिएको उक्त सुविधा गुगलले हटायो । गुगलकै अर्को सम्पत्ति युट्युबले दिएको एडलाई मध्यनजर गरेर दुरुपयोग भइरहेको धेरैले बोल्दै आइरहेका छन् चलचित्र विकास बोर्डका सूचना अधिकृत आनन्द घिमिरेले युट्युबमा रिलिज हुने यस्ता गीतले अहिले सीमा नै नाघेको धारणा राख्छन् । यसबारेमा पहिले पनि कुरा उठेपनि अहिलेसम्म कुनै कदम चाल्न नसकिएको उनी बताउँछन् ‘शर्ट फिल्मका नाममा युट्युबमा अपलोड भइरहेका भिडियो धेरै नै अश्लील भइरहेका छन्, यी भिडियोमा पनि सेन्सर लगाउनुपर्छ भन्ने कुरा बोर्डका पूर्वअध्यक्ष राजकुमार राईकै पालामा उठेको हो, लागू गर्न सकिएन’, उनी थप्छन्, ‘नयाँ अध्यक्ष (निकिता पौडेल) भर्खरै आउनुभएको छ, उहाँसँग पनि यो बारेमा छलफल गर्नुपर्छ, बोर्डले कसरी एक्सन लिने र प्राविधिक टोली कसरी व्यवस्थापन गर्ने भन्नेमा पहिले पनि छलफल भएको हो ।’शर्ट फिल्म निर्माण गर्न पनि पहिले विकास बोर्डमा दर्ता गर्नुपर्ने र केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर गर्नुपर्ने नियम भएको घिमिरे बताउँछन् । तर यहाँ फिल्म कति बन्छन् भन्ने आँकडा पनि हुँदैन निकायसँग त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका फिल्मकर्मी आकाश अधिकारीले शर्ट फिल्म भनेर अपलोड गर्ने र खोल्दा अर्कै भेटिने प्रवृत्तिले आम दर्शकमा गलत सन्देश दिएको बताउँछन् । ‘अहिले युट्युटबको माध्यमबाट हामीलाई पनि नराम्रो असर पारिरहेको छ, हामी यस विषयमा बोर्डसँग कुरा राख्दैछौं’, उनी थप्छन्, ‘यसलाई कानूनको दायरामा ल्याउने काम अनलाइनकै नियमले हो । यो हाम्रोभन्दा पनि राज्यको काम हो, राज्यलाई घचघचाइरने काम त हामी गर्छौं नै ।’युट्युबमा छ्यालब्याल भेटिने भिडियोले नेपाली रंग क्षेत्रलाई नै असर पारेको अधिकारी बताउँछन् । उनी थप्छन्, ‘विकृति भर्खरै शुरु भएको छ, अहिले नीति बनाएर अगाडि बढ्न सकियो भने दीर्घकालीन रुपमा राम्रो हुन्छ ।’चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनले पनि चलचित्रमा जस्तै युट्युबमा रिलिज हुने शर्ट फिल्ममा पनि ‘सेन्सर’ हुनुपर्ने धारणा राख्छन् । पहिले यसबारेका कुरा उठेपनि लागू गर्न नसकिएको बताउँदै उनले फेरि पनि यो कार्य थालिनुपर्ने बताउँछन् ‘युट्युबमा हुने यस्ता विकृतिजन्य भिडियोले नेपाली रंगक्षेत्रलाई नै असर पारेको छ, अहिले धेरैको हातमा युट्युबको पहुँच छ, कतिले त युट्युब हेरेरै फिल्म क्षेत्रका बारेमा धारणा बनाएका हुन्छन्’, उनी थप्छन्, ‘सस्ता भिडियोले गर्दा यहाँ फिल्मकर्मीको नै बदनाम भइरहेको छ ।’दर्शक बढाउन निर्माण गरिने त्यस्ता भिडियोले समाजलाई पनि नराम्रो असर पु–याउने भन्दै कुनै संयन्त्रको माध्यमबाट यस्ता भिडियो निर्माण र अपलोड गर्नेलाई हटाउनुपर्नेमा महर्जन जोड दिन्छन् । उनी फेरि थप्छन्, ‘राज्यको पनि आफ्नै नियम छ, राज्यले निषेध गरेका कुरामा पनि फिल्म बनाइएका छन्, यो सरासर गलत हो ।’केही वर्ष यता यस्ता अश्लील भिडियो र अन्तर्वार्ता प्रयोगकर्ता लोभ्याउनका लागि युट्युबमा अपलोड गरिरहेका छन् । यस्ता भिडियोले राम्रो पक्षलाई भन्दा नराम्रा पक्षलाई बढी महत्व दिन खोजेको फिल्मकर्मीको आरोप छ जनचेतनाका लागि भन्दै अश्लील भिडियो युट्युबमा अपलोड गर्नुको एउटै लक्ष्य युट्युबमा भएको भ्युजको आधारमा पैसा कमाउनु नै हो । कसैले सामान्य मेहनतमा पैसा कमाउनुलाई अन्यथा भन्न मिल्दैन तर सामाजिक मनोविज्ञानमा पर्ने असर र सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग बढिरहेको यथार्थ पाटोतर्फ कसले सोच्ने?

प्रतिक्रिया दिनुहोस