काठमाडौँ , १६ माघ- भारतीय विदेशमन्त्री सुषमा स्वराज नेतृत्वको उच्चस्तरीय कूटनीतिक टोली दुईदिने भ्रमणका लागि बिहीबार काठमाडौं उत्रने भएको छ । नेपालमा नयाँ सरकार गठनको पूर्वसन्ध्यामा स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक सन्देश लिएर आउन लागेको स्पष्ट हुन्छ भारतीय विदेश मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच उच्च राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ । नेपाली पक्षले भने भ्रमणबारे अझैसम्म औपचारिक सूचना पाएको छैन, उनी काठमाडौं आउन लागेको जानकारीमात्र पाएको जनाएको छ । स्वराज बिहीबार काठमाडौं आइपुग्नेबारे सोमबार अबेर जानकारी पाए पनि उनी कति बजे काठमाडौं उत्रने, त्यसपछिको कार्यतालिका के–के छ भन्नेबारे मंगलबार साँझसम्मपरराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा अनभिज्ञ छ विशेष विमानमा काठमाडौं आउने स्वराजको टोलीमा भारतीय विदेशसचिव विजयकेशव गोखले, प्रवक्ता रभिस कुमार, नेपाल हेर्ने डेस्क प्रमुख सुधाकर दलेलालगायत वरिष्ठ अधिकारीहरू हुनेछन् । उनले आएकै दिन राजनीतिक दलका नेताहरूलाई भेट्ने तयारी छ । भोलिपल्ट अर्थात् फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने बताइएको छ । सबै भेटवार्ता दुईपक्षीय सहकार्य र सम्बन्ध विस्तारमा केन्द्रित हुने विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ भ्रमणबारे निर्वाचनपछि ‘कामचलाउ’ बनेको शेरबहादुर देउवा सरकार आफैं स्पष्ट छैन । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भ्रमणबारे टिप्पणी गर्न चाँडो हुने जनाउँदै यसमा परराष्ट्र मन्त्रालयले काम गरिरहेको बताए । परराष्ट्र सहप्रवक्ता रामबाबु ढकालले विदेशमन्त्री आउने जानकारी भएको र दुईपक्षीय वार्तालगायतको तयारी भइरहेको जनाए । ‘आज (मंगलबार) बिदा छ । बुधबार अपराहन हामी केही दिन सक्छौं । छलफलका विषय र एजेन्डाबारे बुधबार नै जानकारी हुनेछ,’ उनले भने यो भ्रमण नेपाल सरकारको निमन्त्रणामा हुन लागेको होइन । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दलको निमन्त्रणा वा भारत सरकारको सन्देश बोकेर आउन लागेको विशेषदूत हैसियतको भ्रमण हो यो ।’विदेशमन्त्री स्वराजको भ्रमणको मुख्य चासो एमाले अध्यक्ष केपी ओलीसँग जोडिएको छ । एमाले महासचिव ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीसँगको फोन वार्तामा नै विदेशमन्त्री आउने जानकारी दिएको बताए । अध्यक्ष ओलीसँग दुईपटक फोन वार्ता गरेका मोदीले पछिल्लो परिस्थितिबारे छलफल गर्न स्वराजलाई नेपाल पठाउने जानकारी दिएको हुन सक्ने जनाउँदै पोखरेलले भने, ‘भारतले निर्वाचनपछिको अवस्थालाई नजिकबाट नियाल्न यो भ्रमण हुन लागेको हो । छिमेकसँग सम्बन्ध सुमधुर राखेरै अघि बढ्ने हाम्रो नीति हो । कसैको दबाबभन्दा पनि मुलुकको सर्वोपरि हितमा नै काम गर्ने हो ।’भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीप्रति सशंकित भारत र भारतप्रति सशंकित ओलीबीचको ‘ट्युनिङ’ स्पष्ट पार्न स्वराज नेपाल आउन लागेको जानकारहरूको भनाइ छ । तिनका अनुसार अहिलेको परिस्थितिमा न ओलीले भारतीय चासोलाई बेवास्ता गर्न सक्छन् न त भारतले ओलीलाई । त्यही कारण सम्बन्धमा यसअघि देखापरेको तिक्तता घटाउन र सहकार्यका आधारहरू पहिल्याउन यो भ्रमण हुन लागेको देखिन्छ स्वराजको अपर्झट भ्रमणमा ओलीको सत्तारोहणपछि नेपाल चीनतर्फ धेरै नढल्कियोस् भन्ने भारतीय चाहना पनि जोडिएको छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया