काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने जङ्गली जनावर नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिकाले ‘टू फेन्सिङ’ तार जडान शुरु गर्न लागेको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको एक करोड र नगरपालिकाको ६४ लाखको लागतमा फेन्सिङ तार जडानको कार्य हुन लागेको हो ।
ठेक्का प्रक्रियामार्फत जङ्गली जनावर नियन्त्रणका लागि पाँच किलोमिटर क्षेत्रमा तार जडानको काम हुन लागेको नगरप्रमुख दिलबहादुर ऐरले बताए । जङ्गली जनावरको समस्या रहेका वडा नं ३, ४ र ५ मा चालु आवमा फेन्सिङ तार जडानको काम गरिने उनले जानकारी दिए । गत आवमा सामाजिक विकास मन्त्रालयको एक करोड र नगरपालिकाको १६ लाख ५० हजारको लागतमा चार किलोमिटर क्षेत्रमा फेन्सिङ तार जडान गरिएको थियो ।
तार जडानपछि निकुञ्जबाट किसानका खेतमा छिरेर अन्नबाली खाई नोक्सान पु¥याउने नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायत जनावर नियन्त्रण भएका छन् । फेन्सिङ तार जडानसँगै मानव र जङ्गली जनावरबीचको द्वन्द्व कम भएको नगरप्रमुख ऐरले बताए ।
हात्ती नियन्त्रण गर्न गाह्रो
टू फेन्सिङ तार जडानपछि नीलगाई, बँदेल, बाह्रसिङ्गा, चित्तललगायतका जनावर नियन्त्रण भए पनि जङ्गली हात्तीको बथान भने नियन्त्रण गर्न सकिएको छैन । फेन्सिङ तार तोडेर हात्ती बस्तीमा छिर्ने गरेका छन् । रुखको हाँगाले तारमा तेस्र्याइ तार तोडेर हात्ती बस्तीमा प्रवेश गरी उपद्रो मच्चाउँदै आएका छन् ।
दुई दिनअघिमात्रै जङ्गली हात्तीको बथानले वडा नं ५ को खजुवा र गर्जमुनिका किसानको खेतमा छिरेर एकैरात नौ बिघा बढी क्षेत्रफलमा लगाइएको गहुँबालीमा नोक्सानी पु-याएको थियो । हात्तीको आतङ्कबाट नगरपालिकाका १० वडा प्रभावित छन् ।
केही महिनाअघि मात्रै जङ्गली हात्तीको बथानले वडा नं १ गणेशपुरका बलदेव बोहराको ज्यानसमेत लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया